| सोमवार, कार्तिक २३, २०८३

छ बर्षदेखि निर्माणाधीन न्याकको मोबाइल टावर अझै चालु भएन


चुमनुब्री गाउँपालिका ३ न्याकमा बिगत छ बर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको मोबाइल टावरबाट अहिलेसम्म प्रशारण सुरु भएको छैन । लामो समयसम्म निर्माण कार्य सम्पन्न नहुँदा न्याक, सिर्दिबास, आँगासस्र्युँ, ठूलो फिलिम, सानो फिलिम, पाती, पाङ्सिङ, देवल, घट्टेखोला, चिसापानी, एक्लेभट्टी, ड्याङ, लोक्पालगायतका टोलका बासिन्दाले मोबाइल सेवा उपभोग गर्न पाएका छैनन् ।


टेलिकमले काममा ढिलासुस्ती गर्दा छ बर्षदेखि टावर निर्माणको काम अलपत्र बनेको स्थानीय दिपेश गुरुङले जानकारी दिए । ‘छ बर्षअघि २०७२ मा यहाँ थ्रीजी टावर बनाउने काम सुरु गरिएको थियो’, गुरुङले भने, ‘सुरु गरेको काम पनि टेलिकमले लामो समयसम्म अघि बढाउन सकेन ।

हामी स्थानीयबासीले दबाब दिँदादिँदा यो बर्ष टावर त बन्यो, तर फेरि टावरबाट प्रशारण सुरु भएको छैन ।’ आफूहरु टेलिकमलाई कराउँदा कराउँदा हैरान भएको गुरुङको गुनासो छ ।


अहिले चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा समेत स्काइ फोन सेवा मात्र सञ्चालित छ । चुमनुब्री गाउँपालिका वडा नं. १ को साम्दो, वडा नं. ३ को न्याक र वडा नं. ६ को लोक्पा अहिलेसम्म पनि सबैखाले मोबाइल फोन सेवाबाट पनि वञ्चित छन् ।


टेलिकमले छेकम्पार, बिही, ल्हो र न्याकमा निर्माण गरिएको टावरबाट एकैचोटी फोरजी सेवा सुचारु गर्ने लक्ष्य लिएको जनाएको छ । ‘अहिले यी ठाउँहरुमा स्याटेलाइट प्रविधिको फोन सेवा सञ्चालित छन् । अब रेडियो लिंकमा लैजाने हो’, नेपाल टेलिकमका गोरखा वितरण केन्द्र प्रमुख राजेन्द्रबहादुर श्रेष्ठ भन्छन्, ‘त्यसका लागि चारवटै टावरको प्राविधिक सामग्री हेलिकोप्टरबाट एकसाथ लैजाने भनेर रोकिएको हो । छेकम्पारको टावरमा त्यहाँको माइक्रोहाइड्रोबाट विद्युत लाइन जोडने प्रक्रियामा छ ।’

दशैअघि सबै टावरबाट एकसाथ सेवा सुचारु हुने उनले बताए ।

तस्वीर : दिपेश गुरुङ

प्रतिक्रिया दिनुहोस्