
युवाको सबाल र समाधान बारे राउण्ड टेवल कार्यक्रम सम्पन्न
युवाको सवाल र समाधान विषयक राउण्ड टेवल कार्यक्रम गोरखामा सम्पन्न भएको छ । वुधवार सम्पन्न भएको उक्त भर्चुअल कार्यक्रममा प्रदेश सांसद माननीय प्रकाश चन्द्र दवाडीले प्रदेश सरकारले वढि भन्दा वढि उद्यमशिलता तथा रोजगारी अभिवृद्धि गर्ने उदेश्यले कृषि तथा पशुपालनमा प्रसस्तै वजेट विनियोजन गरि काम गरिरहेको बताए।
गोरखा नगरपालिकाका उपमेयर विना कुमारी श्रेष्ठ तथा गाउँपालिका महासंघ गण्डकी प्रदेशको संयोजक एवं भिमसेन थापा गापाको अध्यक्ष इश्वर पाण्डेले युवाहरुको लागि रोजगारी र सीप विकासको कार्यक्रमहरु गरिएको बताए । साथै सिपमुलक तालिम लिएपछि व्यवहारमा उतार्न नसकेकको तथा वैदेशिक रोजगारीलाई युवाहरुले आफ्नो रोजाई वनाउदा युवा लक्षित कार्यक्रम प्रभावकारी नभएको वताएको थिए ।
पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा तथा जिल्ला युवा समितिको अध्यक्ष राजन गुरुङले अझै पनि युवाहरुले स्वदेशमा वसेर काम गर्ने उपयुक्त वातावरण, लगानी सुनिश्चिता, भएको उत्पादनको समेत वजारीकरणमा समस्या भएको कारण दैनिक अन्तराष्ट्रिय विमानस्थलमा हजारौको संख्यामा युवाहरु वाहिरिन परेको बताएका थिए ।
एक फरक प्रसंगमा जिल्ला निर्वाचन कार्यालयको प्रमुख टेक वहादुर कोइरालाले गोरखामा नागरिकता वनाउने र मतदाता परिचयपत्र वनाउनेको विचको खाडल ठुलो भएकाले धेरै युवाहरु आगामी निर्वाचनमा परिचयपत्र नभएकै कारण मतदानवाट वञ्चित हुनुपर्ने स्थिती रहेको बताए ।
कार्यक्रममा वोल्दै कोइरालाले गोरखामा भोट वदर हुनेको संख्या गत स्थानीय निर्वाचनको आधारमा ३.२४ प्रतिशत रहेको बताए । उत्तरी गोरखामा यो क्रम झण्डै ५÷६ प्रतिशत रहेको छ । त्यसकारण स्थानीय निर्वाचनमा राजनीतिक प्रकृया तथा मतदाता शिक्षामा प्रभावकारी रुपमा संचालन गर्न जोड दिए । स्थानीय जनप्रतिनिधिहरुले यस विषयमा पालिकाले आवश्यक पहल गर्ने वताएको थिए । कार्यक्रममा प्रदेश सांसद दवाडीले चुनावलाई मर्यादित र व्यवस्थित वनाउनको लागि पनि युवाको सहभागिता वढाउन आवश्यक भएको वताएको थिए । कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष सापकोटाले चुवानको समयमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले अरु दल प्रति घृणापुर्ण अभिव्यक्ति, गलत सुचना प्रचार गर्ने हुँदा युवाहरु र मिडियाकर्मीहरु सचेत हुनुपर्ने वताए । कार्यक्रममा विभिन्न जिल्लाको झण्डै ४० भन्दा वढि सहभागिहरुको सहभागिता रहेको थियो । युएडएआईडी तथा आइफेसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल युवा संस्था संजालले सहजीकरण गरेको उक्त कार्यक्रमको सहजिकरण गैरसरकारी संस्था महासंघ गोरखाका सचिव हरिदेबकोटाले गरेका थिए ।




