
‘काल आएर मर्न नपाइने भयो भोकमरीले मरिने भयो’
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ क्वाक, छाक, प्रोकका घरघरमा खाद्यान्न अभाव छ । गाउँका कसैको घरमा चामल नरहेको वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘संकटै लागिसक्यो । सिस्नु र फाँडोले छाक टार्न थालेको धेरै भयो’, उनले भने, ‘अब कालले मर्न नपाइने भयो । भोकमरीले मर्नुपर्ने भयो ।’ आफ्नो वडाका सबै पसलमा एकदाना पनि चामल नरहेको उनले बताए ।
वडा नं. ६ चुम्चेत गाउँका ६० घरमा पनि खाद्यान्न रित्तिएको छ । ‘भूकम्पको बेलाभन्दा अहिले पो बिजोग भयो’, वडाअध्यक्ष लोप्साङ लामा भन्छन्, ‘चाइनाको बाटो पनि बन्द भयो, तलको बाटो पनि बन्द भयो । बर्षमा एकबाली मात्र गहुँखेती हुन्छ । त्यो पनि भित्र्याउने बेलामा पानी परेर बोटमै उम्रिएर बसेको छ । काटौँ पनि बिगिन्छ, नकाटौँ पनि बिग्रिन्छ ।’ चामल, तेल, चिनी सबै समस्या भएको उनले बताए ।
खाद्य संस्थानले गाउँपालिका भरिका लागि केही समयअघि डेढसय क्वीण्टल चामल हेलिकोप्टरबाट ढुवानी गरेर फिलिम डिपोमा गोदाम गरेको थियो । तर अपुग हुने भएकाले गाउँगाउँमा लान नसकिएको वडाअध्यक्ष लामा बताउँछन् । ‘एउटा वडालाई ३० किलोको चामल ७० बोराका दरले दिने रहेछ । हाहाकार भएको बेला त्यति चामल लग्यो भने मारामार हुन्छ, बाँड्नै सकिँदैन त्यसैले लानै सकेको छैन’, उनले भने ।
वडा नं. ७ का बासिन्दा पनि एक महिनादेखि खाद्यान्न अभावको समस्या झेलिरहेका छन् । ‘पसलहरु रित्तिसक्यो । चामल, तेल, चिनी, दाल केही पनि छैन’, वडाअध्यक्ष पासाङ फुञ्जो लामा भन्छन्, ‘गुम्बामा जोगाड गरेर राखेको थिएँ, त्यो पनि अहिले त सकियो । फापरले पनि त्यति धान्दैन । यसपाल रोपेको पनि पानीले गर्दा सबै बिग्रियो ।’
गत असार १ गते बूढीगण्डकीले ठाउँ(ठाउँमा बाटो बगाएपछि उत्तरी गोरखामा खाद्यान्नको हाहाकार भएको हो । डेढ महिनादेखि बाटो सुचारु हुन नसक्दा सात वडा र दुईदर्जन भन्दा धेरै गाउँबस्तीको अबस्था नाजुक रहेको चुमनुब्री ३ जगतका बलबहादुर गुरुङ बताउँछन् ।
‘खाद्यान्न हाहाकार भएपछि हेलिकोप्टरले अलिअलि चामल ढुवानी गरेको थियो, तर त्यो हल्लाका लागि मात्र हो’, गुरुङ भन्छन्, ‘दुईहजार भन्दा धेरै घरधुरी रहेको गाउँपालिकामा डेढसय क्वीण्टल चामल ढुवानी गरेर के हुन्छ र ? छिटो भन्दा छिटो बाटो खुलाएर खच्चड हिड्न सक्ने बनाउन नसके गाउँपालिकाभरि भोकमरी हुन्छ ।’ त्यसका लागि प्रतिनिधिसभा, प्रदेशसभा तथा गाउँपालिकाले प्रयास गर्नुपर्ने उनको निश्कर्ष छ ।
खच्चडवालाहरुले यारु बगरमा जोखिम मलेर जबर्जस्ती केही चामल ढुवानी गरेका छन्, तर ३० किलोको एक बोरा चामललाई पैँतीसय रुपैयाँमा जगतमै हारालुछ भएको छ ।
‘अहिलेसम्म जगतभन्दा माथि चामल जान सकेको छैन’, उनले भने, ‘त्यहाँभन्दा माथि गहुँ पनि छैन । राहत पनि छैन । राहत दिन्छु भन्दा पनि ढुवानी गर्ने बाटो पनि छैन ।’
सांसद हरिराज अधिकारीले भदौको १५ सम्म नेपाली सेनाले बाटो सुचारु गराउन सक्ने जानकारी दिए । आफूले उत्तरी गोरखाको बाटो स्तरीकरण, जोखिमका बस्ती स्थानान्तरण र खोला नियन्त्रणका लागि पहल गरेको उनले बताए ।




