
अहिलेकै डिजाइनमा बुढीगण्डकी बनाउन सकिँदैन् ः प्रधान
ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन्। बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन्, यो प्रोजेक्ट बनाउनको लागि हामीले रि–डिजाईन गर्नुपर्छ, अहिलेको कन्क्रिट आर्ट ड्याम्पको डिजाईन ब्रष्ट भयो भने यसले ठूलो भौतिक तथा मानवीय क्षति हुन्छ, नेपालका चितवन, नवलपरासीमात्रै होईन, भारत र बंगलादेशमा समेत यसले क्षति पुर्याउँछ।’ उनले बुढीगण्डकीको अहिलेको ड्याम्पको उचाई धेरै अग्लो भएकोले यसको हाईट घटाउनको लागि डिजाईन परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले अहिलेको डिजाईनको ड्याम्प ब्रस्ट भयो भने कम्तिमा नौदेखि १० करोड मानिसको मृत्यु हुने समेत बताए। प्रधानले बुढीगण्डकी परियोजना ‘अर्थ फिल विथ कन्क्रिट कोर’ डिजाईनमा बनाउँदा उत्तम हुने सुझाए। अहिलेकै डिजाइनमा यो परियोजनाअघि बढाउन भारतले पनि नमान्ने उनको जिकिर छ। उक्त परियोजना १२ सय मेगावाटबाट घटाएर ७८० मेगावाटको मात्रै बनाउनुपर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘बुढीगण्डकी परियोजना रोक्नुहुँदैन, यसलाई अगाडि बढाउनुपर्छ, तर रि–डिजाइन गर्नुपर्छ, रि–डिजाइन नगरे यो प्रोजेक्ट हाइड्रो बम बन्नसक्छ, डिजाइन परिवर्तन गरियो भने १।७ बिलियनमै बन्न सक्छ।’ प्रधानले ‘संघीयतामा जलविद्युतको अपरिहार्यता’ शीर्षकमा नयाँ अवधारणा समेत सार्वजनिक गरेका छन्। उनले ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा प्रचुर मात्रामा जलश्रोतको विकासको सम्भावना रहेको औंल्याएका छन्।




