| सोमवार, कार्तिक २३, २०८३

चिनियाँ अनुदानको खोप चिनियाँ सीमानाका गाउँहरुमा लगाइयो

चिनियाँ सीमानामा रहेका गोरखाका गाउँहरुमा कोरोनाविरुद्धको खोप लगाइएको छ । हेलिकोप्टरबाट ढुवानी गरेर गाउँ(गाउँमा पु¥याई सीमावर्ती गाउँहरुमा खोप लगाइएको खोप समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले जानकारी दिए ।
सीमा आसपास बसोबास गर्ने सबैलाई कोरोनाको खोप लगाउनका लागि चिनियाँ सरकारले भेरोसिल खोप उपलब्ध गराएको थियो ।

सोमध्य स्वास्थ्य कार्यालय गोरखामा प्राप्त तीनहजार डोज खोप सिम्रिक एयरको हेलिकोप्टरबाट ढुवानी गरी सीमावर्ती गाउँहरुमा पु¥याइएको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए ।
‘तीनहजार डोज पठाइएको थियो । प्राय सबैलाई लगाइएको छ’, कोल्डचेन निरीक्षक खत्रीले भने, ‘कुनै गाउँमा एकाध छुट्का होलान् । कतै अलिअलि बढि भएको पनि छ । त्यसैलाई व्यवस्थापन गरी अपुग ठाउँमा पठाएर सबैलाई खोप लगाउने तयारी गरिरहेका छौँ ।’
चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा केही खोप लगाउन छुटेका वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

‘५५ बर्षभन्दा माथिका केहीले डराएर लगाएका थिएनन् । उहाँहरु छुट्नुभएको छ’, उनले भने, ‘तर कति जना छुट्नु भयो येकिन छैन ।’


वडा नं. २ मा पनि खोप कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष पेम्बारेता लामाले जनाए । वडा नं. ४ प्रोकमा पनि खोप लगाइएको छ । ‘गाउँमा रहेका सबैले लगाएका छन् । बरु काठमाडौँ, गोरखाबजार, पोखरातिर रहेका गाउँका विद्यार्थीहरुले लगाउन पाएका छैनन्’, वडाअध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘आजका विद्यार्थी भनेका भोलिका गाउँ हाँक्ने शक्ति हुन् । उनीहरुले झन खोप लगाउन पाउनु पर्ने हो तर पाएनन् । दुख लागेको छ ।’


वडा नं. ७ छेकम्पारमा पनि खोप कार्यक्रम सम्पन्न भएको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जनाए ।

लक्षित समूहलाई लगाएर बाँकी रहेको खोप उमेर समूह बाहिरकालाई पनि लगाइदिएको उनले बताए ।


छुटेकाहरुलाई पुन हेलिकोप्टरबाट लगेर लगाउने प्रयास भइरहेको कोल्डचेन निरीक्षक खत्रीले बताए । उनका अनुसार वडा नं. ५ बिहीमा करिब एकसय डोज खोप उप्रिएको छ । त्यसैलाई सबैतिर बाँडेर लगाउने व्यवस्था मिलाउन लागिएको उनले बताए ।


सो क्षेत्रका तीनहजार सातसय आठ जनाका लागि स्वास्थ्य कार्यालय गोरखाले तीनहजार थान खोप पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्