| शुक्रबार, बैशाख १७, २०८३

लाप्राक

लाप्राकमा व्यबसायिक तरकारी खेती

दरौँदी ः लाप्राक गाउँमा व्यबसायिक रुपमा तरकारी खेती गर्न सुरु गरिएको छ । १५ जना किसानले व्यासायिक रुपमा तरकारी खेती गर्न सुरु गरेको स्थानीय उत्तरकुमार गुरुङले जानकारी दिए ।

उनीहरुले विशेषगरी गोलभेँडा, काउली, बन्दागोभी लगायतका तरकारीको व्यबसायिक उत्पादन सुरु गरेका हुन् । ‘मैले दुईवटा ग्रिनहाउस बनाएर गोलभेँडा उत्पादन गर्ने गरेको छु’ गुरुङले भने ‘गतबर्ष ७० हजार रुपियाँको बेचेको थिएँ । यो बर्ष त छ तीन महिनामै ३० हजार रुपियाँको बेचिसकेँ ।’ तरकारीखेतीबाट सन्तुष्ट भएको उनको भनाइ । उनले तरकारीमात्र होइन, तरकारीको बेर्ना समेत बेच्ने गरेका छन् । ‘मैले तरकारी खेती गरेको देखेपछि गाउँमा अरुले पनि गर्न थालेका छन् त्यसैले अहिले उनीहरुलाई सातहजार पाँचसय रुपियाँको त बेर्ना समेत विक्री गर्ने गरेको छु’ उत्तरकुमारले भने ‘यति धेरै व्यापार हुन्छ कि, बेचेर भागै पु¥याउन सकेको छैन ।’ गाउँमै उत्पादन भएको तरकारी स्वादिलो भन्दै सबैले मनपराउने गरेको उनले बताए । बजारबाट लगेको गोलभेँडा प्रतिकिलो एकसय चालीस रुपियाँमा बिक्री हुने गरे पनि आफूले प्रतिकिलो एकसय रुपियाँमा मात्र बेचेको उनले बताए ।

लाप्राकमा तरकारी खेती गर्न २०७३ सालको असारमा केयर नेपाल नाम गैरसरकारी संस्थाले तालिम दिएको थियो । त्यतिबेला २८ जना किसानले तरकारी खेती तालिम लिए पनि अहिले १५ जना किसान मात्र तरकारी खेतीमा लागेको उनले बताए । संस्थाले उनीहरुलाई व्यवसायिक रुपमा तरकारी खेती गर्न पहिलो बर्षका लागि मात्र तरकारीको बिऊ ग्रिनहाउस निर्माणका लागि प्लास्टिक टनेल, औषधी, बिषाद लगायतका सामग्री उपलब्ध गराएको थियो । ‘पहिलो बर्ष त सबै खेतीमा डढुवा रोग लाग्यो’ उनले भने ‘अर्को बर्षदेखि चाहिँ राम्रो भयो । अघिल्लो बर्ष गोलभेँडा मात्र एकसय केजी बिक्री गरेँ’ गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्