
आज साउने सङ्क्रान्ति
साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ ।
साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउँछन् ।
साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । यसैले साउन महिना एवं सोमवार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउन लागेसँगै मेहन्दी, हरियो चुरा लगाउन पसलहरुमा महिलाहरुको भिड लागेको छ ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भइ रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी आज लुतो फालिन्छ ।




