| सोमवार, कार्तिक २३, २०८३

गोरखाको १० वटा पालिकामा खोप पठाईयो, चुमनुब्रीमा हेलिकप्टरबाट लैजाने तयारी

गोरखाको १० वटा पालिकामा कोरोना बिरुद्धको खोप पठाइएको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीका अनुसार ५५ देखि ६४ वर्ष उमेर माथिका मानिस, विद्यालयका कर्मचारी, शिक्षक, क्याम्पसका प्राध्यापक, सार्वजनिक सवारीका चालक सह चालकलाई लगाउन खोप पठाइएको हो ।

चुमनुब्री बाहेकका गाउँपालिकामा खोप पठाइएको छ । चुमनुब्रीमा साउन १ गते हेलिकप्टरबाट पठाउने तयारी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
‘पालिकाको जनसंख्याका आधारमा हामीले बुधवार सबै ठाउँमा खोप पठाएका छौँ’ उनले भने ‘गोरखा नगरपालिकामा मंगलवार पठाएका थियौँ, बुधवारबाट लगाउन सुरु भयो, अन्य पालिकामा बिहिवारबाट सुरु हुन्छ ।’

खोप लगाउन जाँदा लक्षित समुहले परिचय खुल्ने कागजात देखाउनुपर्ने उनले बताए । यस अघिको चरणमा खोप लगाउन छुटेका लक्षित समुहले पनि अहिले कोरोना बिरुद्धको खोप लगाउन पाउनेछन् ।
गोरखामा अहिले १३ हजार डोज भेरोसिल खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो चरणमा खोप लगाएका लागि लगाउन गोरखाका लागि १७ हजार नौ सय खोप प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा स्टक रहेको कोल्डचेन निरीक्षक खत्रीले बताए ।
गोरखामा अहिले सम्म कोभिसिल २४ हजार दुई सय र भेरोसिल २५ हजार ५३ डोज प्राप्त भएको छ ।

यो मध्ये कोभिसिलको पहिलो मात्रा लगाउनेको संख्या १९ हजार आठ सय ३१ छ भने दोस्रो पनि लगाउनेको संख्या तीन हजार आठ सय ९२ छ । अझै १५ हजार भन्दाबढिले कोभिसिलको दोस्रो मात्रा लगाउन पाएका छैनन् । यी मध्ये अधिकासं जेष्ठ नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्