
शिक्षक, चालक, सहचालक सहित ५५ वर्ष उमेर माथिका ब्यक्तिलाई आज गोनपाको सबै वडामा खोप लगाईँदै
गोरखा नगरपालिकाको सबै वडामा बुधवार कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा र अन्य वडाको स्वास्थ्य संस्थामा बिहान साँढे ११ बजेदेखि खोप लगाइने स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।
‘हामीलाई दुई हजार आठ सय १६ मात्रा खोप आएको छ’, उनले भने । ५५ वर्ष उमेर माथिका सबै ब्यक्ति, विद्यालय, विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सह चालकले खोप लगाउन पाउनेछन् । शिक्षक, कर्मचारीलाई खोप लगाउन परिचय पत्र अनिवार्य गरिएको छ । ५५ वर्ष माथिका नागरिकले उमेर पुष्टि गर्ने कागजात, सार्वजनिक यातायातका चालक, सह–चालकले भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पेश गर्नुपर्ने गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि छुटेका अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपालीले कागजात पेश गरेपछि खोप लगाउन पाउनेछन् । भेरोसिल खोपको पहिलो मात्रा बुधवार लगाइने गोरखा नगरपालिकाले जनाएको छ । हरेक वडाको स्वास्स्थ्य संस्थामा गएर खोप लगाउन नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै अपिल गरेको छ ।




