
एकतावद्ध कांग्रेस निर्माणगर्न गोरखामा भेला भएका युवानेताको जोड
गोरखामा भेला भएका नेपाली कांग्रेसको भातृ संस्था नेविसंघका पूर्व पदाधिकारी एवं नेताहरुले आसन्न १४ औँ महाधिवेशनबाट सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरेका छन् ।
सातवटै प्रदेशका युवा नेताहरुको सहभागीतामा गोरखामा शनिवार भएको भेलाले आसन्न महाधिवेशन सम्पन्न गर्न तमाम कांग्रेसका युवाहरुलाई सक्रिय सहभागीताका लागि पनि अनुरोध गरेको छ । कांग्रेस नेता गोबिन्द भट्टराई लगायत दुई दर्जन नेताको उपस्थिती रहेको भेलाले कांग्रेसमा युवाहरुलाई ब्यापक रुपमा आवद्ध गराउन बैचारिक र राजनीतिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

‘यो पार्टीलाई एकढिक्का बनाएर गुटको राजनीतिक अन्त्य गर्दै युवाहरुको सहभागिता बढाउन आयोजना गरिएको भेला हो’ भेलामा सहभागी एक सदस्यले भने ‘केन्द्रिय नेताहरुलाई दबाव दिन हाम्रो भेला आयोजना भएको हो ।’
भेलाले कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको निश्कर्ष सहित तत्काल सबै नागरिकलाई खोपको ब्यवस्था गर्न माग गरेको छ । बाढी पहिरो पिडित जनताको उचित बसोबासको ब्यवस्था तत्काल गर्नुपर्ने, राहत बितरणको ब्यवस्था गर्नुपर्ने विषयमा पनि भेलामा छलफल भएको थियो ।




