चुमनुब्रीका लागि आएको भेरोशिल्ड खोप थन्कियो
चिनियाँ सीमावर्ती क्षेत्रका १८ बर्षदेखि ५४ बर्षसम्मका नागरिकलाई लगाउन भनेर चिनियाँ सहयोगमा प्राप्त कोरोना महामा रीविरुद्धको भेरोशिल्ड खोप सदरमुकाममै थन्किएको छ । चुमनुब्री गाउँपालिकाका सातवटा वडाका बासिन्दाका लागि भनेर गत बिहिबार जिल्लामा आएको तीनहजार मात्रा खोप स्वास्थ्य कार्यालयभित्रै थन्किएको हो ।
हेलिकोप्टरमार्फत ढुवानी गर्न नसक्दा खोप कार्यालयकै गोदाममा थन्किएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए । ‘यसअघि पनि हेलिकोप्टरबाटै ढुवानी गरेका हौँ । यसपटक पनि हेलिकोप्टरबाहेक खोप ढुवानी गर्न अर्को बिकल्प छैन’, खत्रीले भने, ‘तर अहिलेसम्म ढुवानी व्यवस्थाको सुनिश्चितता छैन । माथिबाट अर्को चरणको खोप पठाउनका लागि छिटो गोदाम खालि गर भनेर ताकेता गरिरहेका छन् तर यहाँको ढुवानी गरेर खालि गराउन सकेको छैन ।’ २४ गतेपछि चीनबाट प्राप्त ५० लाख भेरोशिल्ड खोपमध्य गोरखालाई आवश्यक खोप आउने, तर भण्डारणका लागि ठाउँ खालि नभएको उनले बर्ता ।
गोरखाका सीमावर्ती क्षेत्रका लक्षित तीनहजार सातसय ८९ जनालाई लगाउन सरकारले तीनहजार मात्रा खोप पठाएको छ । ‘चुमनुब्री गाउँपालिकामा १८ बर्षदेखि ५४ बर्षसमूहका तीनहजार सातसय ८९ जना छन् भन्ने हाम्रो अनुमान छ तर तीनहजार सातसय आठ जना छन् भन्ने पालिकाको अनुमान छ’, कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने, ‘रोजगारीका क्रममा बाहिर रहेको संख्यालाई मध्यनजर गरी तीनहजार मात्रा खोप मात्र त्यहाँ पठाउने भनेर छुट्याएर राखेका छौँ । ढुवानीको व्यवस्था भएको छैन । एउटा एनजीओसँग सरसल्लाह भइरहेको छ ।’ यसअघि पनि माउण्टेन चाइल्डले धेरै पटक हेलिकोप्टरको व्यवस्था गरेकाले यसपटक पनि सोही संस्थालाई अनुरोध गर्ने उनले बताए ।
खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले खोप ढुवानी गरिदिन माउण्टेन चाइल्डलाई बारम्बार आग्रह गरिरहेको बताए । ‘अरु खोप आउने बेला भइसक्यो, तर यहाँ गोदाम खालि छैन ।
त्यसैले जसरी पनि यसलाई उठाउनु पर्छ भनेर आग्रह गरिरहेका छौँ’, प्रजिअ पौडेलले भने, ‘जहाँसम्म विश्वास छ, त्यो एनजीओले ढुवानी गरिदेला ।’ चुमनुब्रीका सात वटा वडाका स्वास्थ्य चौकीलाई नै खोप केन्द्र बनाएर खोप सञ्चालन गर्ने योजना बनाइएको उनले बताए ।




