‘आम्जी’ पद्धतिलाई प्रवद्र्धन गर्ने चुमनुब्री गाउँपालिकाको योजना
गोरखाको चुमनुब्री गाउँपालिकाले आम्जी प्रणालीलाई प्रवद्र्धन गर्ने भएको छ । स्थानीय जडिबुटीहरुको प्रयोगबाट उपचार गर्ने आम्जी पद्धतिलाई प्रवद्र्धन गर्ने कार्यलाई गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
‘स्थानीयस्तरमा स्थानीय जडिबुटीको प्रयोगद्वारा परम्परागत रुपमा उपचार गरिने आम्जी पद्धतिलाई प्रवद्र्धन गर्न आवश्यक व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यस्तै स्वास्थ्यकर्मीहरुको सीप र दक्षता अभिबृद्धि गर्नका लागि आवश्यक क्षमता विकास कार्यक्रम तथा तालिमको व्यवस्था गर्ने नीति पनि पालिकाले सार्वजनिक गरेको छ ।
त्यस्तै जेष्ठ नागरिक, असहाय, अपाङ्ग, एकल महिला र विपन्न वर्गको स्वास्थ्य परिक्षणका लागि प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने नीति पनि पालिकाले अपनाएको छ । पाठेघर खस्ने, पाठेघर तथा स्तन क्यान्सर, महिनावारी हुदाँ हुने समस्या लगायतका स्त्रीरोग सम्बन्धी रोग पहिचान र उपचार सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्ने नीति पनि पालिकाले लिएको छ ।
तत्काल उपचार नपाए ज्यान जोखिममा पर्ने जटिल प्रकृतिको सुत्केरी र गम्भीर दुर्घटनामा परेकाको उपचारका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरी हेली एम्बुलेन्स सेवा उपलब्ध गराउन सहजीकरण गरिने पनि पालिकाले जनाएको छ ।
चुमनुव्री गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सिप, अनुभव पुस्तान्तरण गर्न र उहाँहरुलाई परिवारबाट गरिने व्यवहारमा थप सम्मान, माया, ममता अभिवृद्धि गर्ने उद्देश्यले अध्यक्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरुको सिकाई क्षमता अभिबृद्धिका लागि अन्तर स्थानीय तह अध्ययन भ्रमणको व्यवस्था गरी सेवा प्रवाहमा थप सुधार गर्न पहल गरिने, नागरिकहरुको गुनासो सुन्न तथा गुनासो समाधान गर्नाका लागि जनतासँग अध्यक्ष कार्यक्रम आगामि आर्थिक वर्षमा संचालन गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।
हालसम्म भएका योजना तथा कार्यक्रमहरुको प्रगति, लागत लगायतका विषयमा थप प्रभाव कारीता ल्याउन आगामि आर्थिक वर्षदेखि गाउँपालिकाबाट संचालन गरिने योजनाहरु मध्ये १० लाख वा सो भन्दा माथिका सम्पूर्ण योजना र प्राविधिक विशेषज्ञता आवश्यक पर्ने सबै योजनाहरु ठेक्का प्रणालीबाट संचालन गर्ने भएको छ ।
चुमनुव्री गाउँपालिकाभित्र अविरल वर्षाका कारण विस्थापित भएका परिवार विशेष गरी सल्लेरीका स्थानीयबासिन्दाहरुको आर्थिक तथा भौतिक रुपमा पुनःस्थापना गरी दैनिक जिविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्ने गाउँपालिकाले नीति लिएको छ ।
महिलाहरुको स्वावलम्बन तथा आर्थिक रुपमा सबल गराउन, गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै महिलाहरुको समग्र पक्षको विकास गर्न उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम आगामि आर्थिक वर्षमा संचालन गर्ने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मासात गर्दै गाउँपालिकाभित्र आगामि आर्थिक वर्षमा अध्यक्ष कप खेलकुद कार्यक्रमको आयोजना गरी संचालन गरिनेछ ।
गाउँपालिकाभित्रका युवा युवतीहरुलाई उद्यमशिलता विकास गरी दैनिक जीवनयापनका लागि सहज बनाउन निश्चित मापदण्ड बनाई कम्प्युटर डिप्लोमा कोर्स अध्ययनका लागि अनुदान उपलब्ध गराईनेछ ।
चुमनुव्री गाउँपालिका वडा नं. ३ मा रहेको बुद्ध माध्यामिक विद्यालयको भौतिक पुर्वाधार निर्माणमा गरी कक्षा १२ सम्म पठन पाठन सञ्चालन गर्नको लागि अनुमति लिने प्रक्रिया आगामि आर्थिक वर्षमा अगाडि बढाउने भएको छ ।
चुमनुव्री गाउँपालिको भौगोलिक विकटतालाई मध्यनजर गर्दै जनसंख्या तथा आवश्यकताका आधारमा विद्यालयबाट टाढा रहेका बस्तीका बालबालिकाहरुलाई शिक्षाको सुलभ पहुँच पु¥याउनका लागि प्रारम्भिक बाल विकास कक्षा संचालनका लागि अनुमति दिई बालविकास सहजकर्ताको व्यवस्था गर्ने कार्यक्रम गाउँपालिकाको छ । नेपाल सरकारको नीतिअनुरुप बालविकास सहजकर्तालाई तोकिएको तलवमानमा संघीय सरकारले व्यहोर्ने रकमबाहेक थप आवश्यक पर्ने रकम गाउँपालिकाको तर्फबाट विनियोजन गर्ने पनि पालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र रहेका चौरी संरक्षण गरी व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न दूध मिसन कार्यक्रम अन्तर्गत चौरी तथा भेडा संरक्षण कार्यलाई प्रोत्साहित गर्न अनुदान उपलब्ध गराइनेछ ।
परम्परागत रुपमा हुदै आएको कृषि कार्यलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्न स्याउ, दाँते ओखर, लसुन, आलु लगायतका विरुवा तथा विउ विजन अनुदानको रुपमा उपलब्ध गराउने भएको छ ।




