| आइतवार, कार्तिक २२, २०८३

रित्तै हात फर्कनुपर्ने बाध्यतामा रहेको विद्यालय कर्मचारीलाई सिरानचोकमा ५० हजार

लामो समय विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी (पिएन) सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिले तोकेको तलब सुविधा बाहेक राज्यबाट पाउने अन्य सुविधा छैन् ।
शिक्षको तलब खुवाउन समेत मुस्किल पर्ने सामुदायिक विद्यालय सँग कर्मचारिलाई सेवा सुविधा दिने छुट्टै स्रोत पनि हुँदैन । जति वर्ष सेवा गरेपनि अबकासपछि उनीहरु रित्तो हात फर्कनुपर्ने बाध्यता छ । कयौँ पटक स्थायी गर्न वा राज्यबाट सेवा सुविधाको माग गरेर कर्मचारीले आन्दोलन गरेपनि सुनुवाई भएन ।
गोरखाको एक स्थानीय तह सिरानचोक गाउँपालिकाले विद्यालयमा वषौँ सेवा गरेर उमेर हदका कारण सेवा निवृत्त भएका कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउन सुरु गरेको छ ।
‘हामीले सेवा निवृत्त विद्यालय कर्मचारीलाई नगद ५० हजार दिएर बिदाई गर्न सुरु गरेका छौँ’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने । ६० वर्ष उमेरहद पुगेर अनिवार्य अबकास पाएकाहरु ३० वर्ष १० महिना देखि ४७ वर्ष चार महिना सेवा गरेकाहरु रहेको उनले बताए ।

गाउँपालिकाले ५० हजार सहित अबकास दिएका मध्ये ४७ वर्ष चार महिना सेवा गरेका महेन्द्रलिला मावि हर्मीका कृष्ण प्रसाद ढकाल, ३५ वर्ष ११ महिना सेवा गरेका हिमाली माविका सन्तबहादुर गुरुङ, ३४ वर्ष १ महिना सेवा गरेका आहाल भञ्ज्याङ माविका तेजबहादुर भण्डारी, ३३ वर्ष तीन महिना जनज्योती माविमा सेवा गरेका हरिप्रसाद दाहाल, ३२ वर्ष चार महिना चम्पाबती माविमा सेवा गरेका ऋषिराम ढकाल, ३० वर्ष १० महिना सेवा गरेका मण्डली माविका दयाराम पोखरेल रहेका छन् ।
गाउँपालिका अध्यक्ष गुरुङले ६० वर्ष पुगेर सेवा छाडेकालाई ५० हजार र त्यो भन्दा अगाबै छाडेकालाई कम रकम दिने नीति गाउँपालिकाले लिएको बताए ।
‘उमेर छँदा सम्म विद्यालयमा सेवा गर्ने र ६० वर्ष कटेपछि रित्तो हात फर्कनुपर्ने अवस्था छ’ अध्यक्ष गुरुङले भने ‘कर्मचारीहरुको आत्मासम्मानका लागि यो अभियान सुरु गरेका हौँ ।’ चालु आर्थिक वर्ष ६ लाख बिनियोजन भएको र आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर चलिरहने उनले बताए ।
‘वडा कार्यालय, गाउँपालिका र मातहतका कार्यालयमा रहेका सहयोगी, करारका कर्मचारीको हकमा पनि यो कार्यक्रम लागु हुनेछ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्