| आइतवार, कार्तिक २२, २०८३

पालुङ्टार ९ मा न रह्यो विजुली, न खानेपानी, न सडक


बाढी र पहिरोका कारण पालुङ्टार नगरपालिका ९ मा विजुली, खानेपानी र सडक नष्ट गर्दा स्थानीयबासी समस्यामा छन् ।

गत असार १६ र १७ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोले खानेपानीको मुहान, रिजर्भ ट्याङ्की, पाइप लाइन तथा धाराहरु बगाएको छ । विद्युत अबरुद्ध छ भने सडक ठाउँठाउँमा क्षतिग्रस्त भएको छ ।

‘के मात्रै बिग्रिएको, भत्किएको छैन र ? सबैभन्दा महत्वपूर्ण यहाँ खानेपानी नै छैन । यहाँका बासिन्दा बलेनी पानी खाएर बस्नु परेको छ’, पाण्डेले भने, ‘एकसाता भयो, विजुली बत्ती छैन । स्यूसाँझै खाना खाएर सुत्नु परेको छ । सडक ठाउँठाउँमा बिग्रिएको छ । बिरामीलाई पनि डोकोमा बोकेर अस्पताल लानुपर्ने अबस्था छ ।’

किसानले रोपेका खेत तथा रोप्ने तयारी गरेका खेत बाढीले बगाएर बिचल्ली बनाएको वडाअध्यक्ष भेजराज पाण्डेले बताए ।


गाउँमा सबैथोकको समस्या भएको सेराका गणेशराज सेढाइँ बताउँछन् ।

‘यो गाउँ, उ गाउँ हैन, यहाँ जहाँतहीँ तहसनहस छ । बत्ती, पानी, बाटो सबै क्षतविक्षेत छन्’, सेढाईँ भन्छन्, ‘बाढीले खानेपानीको मुहान बिगारिदिएको छ । पहिरोले पाइपलाइन लगेको छ’, उनले भने, ‘कतै बलेनी पानी खाएर बसेका छन्, कतै खोलाको भलपानी खान बाध्य भएका छन् । बत्ती नहुँदा अँध्यारोमा बसेको एकहप्ता हुन लाग्यो । कतै जाउँ बाटो छैन । रोपाईँ गर्न ठिक्क पारेर राखेको खेत छैन ।’

सुगम भएर पनि यहाँको समस्या स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार कसैको नजरमा नपरेको उनको गुनासो छ ।

जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले खानेपानी, सडक, विद्युत तथा सिचाइ कार्यालयका प्रमुखसँग समन्वय गरी समस्या समाधानको पहल गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्