
मुहानमा बाढी पसेपछि गोरखा बजारको पानी धमिलो
गोरखा सदरमुकाममा पानी बितरण गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि पानी धमिलो भएको छ ।
बाढीका कारण इन्टेक, फिल्टर, रिजर्भ टंकीमा क्षती पुगेकाले तीन दिनपछि शनिवार साँझबाट पानी बितरण गरिएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बिनोद अर्यालले बताए ।
निरनतर वर्षातका कारण मर्मतका लागि समस्या भएको बताउँदै उनले शनिवार अध्यक्ष सहितका पदाधिकारी, इन्जिनियर सहितको टोली मुहान स्थलमा पुगेर अवलोकन सँगै मर्मत गरिएको बताए । ९ र १० जना मान्छे खोजेर मर्मत गरिएको र अस्थायी रुपमा पानी ल्याइएको उनले बताए ।
‘पहिले भन्दा बाढीका कारण पानी केही धमिलो हुन सक्छ’ उनले भने । बुङ्कोट स्थित छाङखोला र धाक्रेखोलाबाट ल्याइएको पानी साना शहरीले गोरखा सदरमुकामको करिब १३ सय घरधुरीमा बितरण गर्दै आएको छ ।
पानीको मुहान गोरखा बजारको बितरण केन्द्रबाट करिब ११ किलोमिटरको दुरीमा पर्छ ।




