| आइतवार, कार्तिक २२, २०८३

धार्चे गाउँपालिकाका २ जना बन लसुन सहित मनाङबाट पक्राउ

गोरखाको धार्चे गाउँपालिकाका २ जना प्रतिबन्धित वन लसुन सहित मनाङबाट पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई ६ लाख रुपैयाँ बराबरको प्रतिबन्धित वन लसुनसहित पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार गोरखाको धार्चे गाउँपालिका ५, गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका ३, खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे गाउँपालिका ७, लापु घर भइ हाल खितीपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

अवैध रुपमा संकलन गरी भण्डारण गर्न लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले करिब ३० केजीबराबरको वनलसुनसहित २ जनालाई पक्राउ गर्न सफल भएको डीएसपी खड्काले बताए । उनीहरुले नार्पाभूमिको नारका स्थानीयबाट प्रतिकिलो ४ हजार रुपैयाँका दरले किनेर ल्याएको बताएका प्रहरीले बताएको छ । वन लसुनलाई राम्ररी सुकाएर बिक्री गर्दा प्रतिकिलो १८ हजारदेखि २० हजार रुपैयाँमा सम्म बिक्री गर्न सकिने पक्राउ परेको व्यक्तिहरुको भनाइ रहेको डीएसपी खड्काले बताए ।

पक्राउ परेका २ जनासहित बरामद गरिएको वनलसुनलाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई बुझाएको छ । शुक्रबार बरामद गरिएको वनलसुन मनाङको नासों गाउँपालिका ५, थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने मनाङको तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका छिरिङ बुन्जो लामा नामक व्यापारीलाई बिक्री गर्ने तयारी गरेको खुल्न आएको डीएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्