| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटमा ‘सेवाको वरिपरि जनता होईन जनताको वरीपरि सेवा’

बारपाक सुलिकोट गाउँपालिकाले हरेक पटक गर्भ परीक्षण गर्न आउने महिलालाई दुई किलो नुन उपहार दिने भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने र नियमित गर्भ जाँच गर्नुपर्छ भन्ने सन्देश दिन हरेक पटक स्वास्थ्य संस्थामा जाँच गराउन जाँदा गर्भवतीलाई दुई किलो आयोडिन नुन दिने कार्यक्रम आगामी आर्थिक बर्षबाट सुरु हुने गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बताईन ।

स्वास्थ्य संस्थामा गर्भजाँच गराउँदा र सुत्केरी हुँदा महिलाहरुले पाउने प्रोत्साहन रकम पनि पाउनेछन् । एउटा खोप केन्द्र थप गर्ने, गर्भवती महिला स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्था गएका बेला हरेक पटक दुई केजी आयोडिन नुन उपलब्ध गराउने पालिकाले जनाएको छ ।
आकस्मिक प्रसुति सेवालाई ब्यवस्थित गर्न भन्दै बर्थिङ सेन्टरमा थप उपचार आवश्यक परेमा वा बिरामीलई एम्बुलेन्स खर्च गाउँपालिकाले ब्यहोर्नेछ ।


हरेक महिना महिला स्वास्थ्य स्वयम सेविकालाई दुईसय रुपैयाँ सञ्चार खर्च उपलब्ध गराउने, वडा स्तरमा स्वास्थ्य संस्था संचालन गर्न पाँच÷पाँच रोपनी जग्गाको ब्यवस्था गर्ने नीति पालिकाले लिएको छ । कोभिड १९ लाई लक्षित गर्दै सो गाउँपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने, अक्सिजन सिलिण्डर अभाव हुन नदिने गाउँसभामा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी गराए ।
बारपाक सुलिकोट गाउँपालिकाले जडिवुटी प्रशोधन केन्द्र निर्माण गर्ने, आयुर्वेद सेवालाई थप ब्यवस्थित गर्ने जनाएको छ ।
विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले ‘बालवालिकालाई विद्यालय ल्याऔँ, पढाइमा टिकाऔँ’, अभियान संञ्चालन गर्ने जनाएको छ ।

शहीद दिलबहादुर रम्तेल छात्रवृत्ति कोष स्थापना गर्ने, घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच कार्यक्रमलाई निरन्तरता दिने भएको छ । गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम संचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने योजना पालिकाको छ ।
युद्धपार्क ताकुकोटलाई युद्ध संग्रालय सहित पर्यटिकय केन्द्र बनाउने योजना रहेको छ । बारपाक सुलिकोट गाउँपालिकालाई पर्यटन मैत्री बनाउन बिभिन्न स्थलमा होमस्टेको सम्भाब्यता अध्ययन गरी निजी ४० र ६० प्रतिशत साझेदारीमा घरबास कार्यक्रममा जोड दिइनेछ ।
गाउँपालिकाभित्रका सडकलाई स्तोरन्नती गर्ने, वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गर्ने, गाउँपालिकाभित्रका मुख्य सडकलाई बाह्रैमहिना गाडी चल्न सक्ने बनाउने नीति बारपाक सुलिकोट गाउँपालिकाले लिएको गाउँसभामा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी गराए ।

कृषिलाई आर्थिक बिकासको आधार स्तम्भ बनाउने नीति बारपाक सुलिकोट गाउँपालिकाले लिएको छ । शिक्षालाई सिप, सिपलाई रोजगारी र रोजगारीलाई बजारसँग जोड्ने कार्यक्रम गाउँपालिकाको छ ।
‘सेवाको वरिपरि जनता होईन जनताको वरीपरि सेवा हो’ भन्ने नीति अख्तियारी गर्ने गाउँपालिकाले जनाएको छ । आगामी दुई वर्षभित्र गाउँपालिकामा एक घर एक धारा, करेसाबारी हराभरा भन्ने कार्यक्रम पूर्ण रुपमा लागु गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्