
चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन
सरकारको विभिन्न असंवैधानिक कदमका बिरुद्ध गोरखाका चार विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन गरेका हुन् ।
पुरानो बसपार्कबाट सुरु भएको चार विद्यार्थी संगठनको जुलुसले हरमटारीमा पुगेर मसाल जुलुस समेत प्रदर्शन गरेका थिए । जुलुसले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा चालिएको असंवैधानिक निर्णयहरु बदर हुनुपर्ने, जातीय छुवाछुतको ब्यबहार गर्नेलाई संरक्षण गर्ने मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
साथै उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीको पुतला दहन गर्ने प्रयास गरेका थिए । तर प्रहरीले तत्कालै हस्ताक्षेप गरेको थियो ।
जुलुसपछिको कोणसभामा नेविसंघका अध्यक्ष सुवास अधिकारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आरके भट्ट, अनेरास्ववियूका अध्यक्ष सचिन भट्टराई लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।




