| आइतवार, कार्तिक २२, २०८३

आगामी वर्षका लागि गोरखा नगरपालिकाको बजेट १ अर्व ५ करोड

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि एक अर्व पाँच करोडको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको आगामी वर्षको नीति कार्यक्रम नगरप्रमुख राजनराज पन्तले प्रस्तुत गरेका थिए । नगरप्रमुख पन्तको अध्यक्षतामा भएको नगरसभाले बित्तिय समानिकरण अनुदान तर्फ २३ करोड ४९ लाख र सर्शत अनुदानबाट ३३ करोड ४६ लाख अनुमान गरेको छ । राजश्व बाँडफाँड, विद्युत रोयल्टी, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी लागत सहभागीता सहित अनुमानीत बजेट प्रस्तुत गरिएको हो ।
गत वर्ष नगरपालिकालाई राजश्व, बिभिन्न अनुदान, आन्तरिक स्रोत गरी एक अर्व सात करोड ४८ लाख प्राप्त भएको उपप्रमुख श्रेष्ठले बताईन । उक्त रकम मध्ये पुँजीगत तर्फ करिब ५३ र चालु तर्फ ६० प्रतिशत खर्च भएको छ । असार मसान्त सम्म पुजिँगत खर्च करिब ८० प्रतिशत पुग्ने अनुमान नगरपालिकाको छ ।
आगामी वर्षका लागि नगरपालिकाले कोभिड १९ को माहामारीबाट प्रभावित नगरबासीको जिबन रक्षा गर्न र जनजिवनलाई सामान्यीकरण गर्न बजेटमा प्राथमिकता दिएको नगर सभाका अध्यक्ष राजनराज पन्तले बताए । नीति कार्यक्रम र बजेटमा स्वास्थ्य पूर्वाधारको बिकास र बिस्तार, कृषि क्षेत्रको आधुनिकिकरण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड, गुणस्तरीय शिक्षाको बिकास लगायतलाई जोड दिइएको मेयर पन्तले बताए ।
कोभिडबाट मृत्यू भएकाको परिवारलाई सहयोग कार्यक्रम अन्र्तगत ३० हजार उपलब्ध गराउने, बिपन्न समुदायका विद्यार्थीलाई गोरखा निगरपालिका भित्रका क्याम्पसमा अध्ययन गर्न छात्रवृत्ती उपलब्ध गराउने, नगरस्तरीय युवा परिषद गठन गर्ने जस्ता नयाँ नीति नगरपालिकाले लिएको छ ।
नगरभित्रका स्वास्थ्य संस्थामा आधारभुत प्रयोगशाला स्थापना गर्ने, स्वयमसेविकालाई १० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने, एक सय धारा भएका लिफ्ट खानेपानी आयोजनमा विद्युत महशुसमा अनुदान मासिक पाँच हजार उपलब्ध गराउने, रेडियोको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने जस्ता कार्यक्रम नगरसभाले पारित गरेको छ । टोलटोलमा स्वास्थ्य जाँच, जेष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएकालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गाउने कार्यक्रम नगरपालिकाले ल्याएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्