
जगत बगरका तीन घरमा बूढीगण्डकी पस्यो,
चुमनुब्री गाउँपालिका ३ जगत बगरका तीन घरमा बूढीगण्डकी पसेको छ । बुधबार रातीदेखि आएको अबिरल बर्षापछिको बाढी त्यहाँका तीन घरमा पसेको स्थानीय कुशल घलेले जानकारी दिए ।
‘नदी बढिरहेको छ । घरभित्र पानी पसिसकेको छ’, उनले भने, ‘घरका मान्छेले यहाँको भत्काएर काठपात झिकिरहेका छन् ।’ एकहप्ताअघि आएको बाढीपछि स्थानीयबासी घर छाडेर बिस्थापित भइसकेका उनले बताए ।

यसअघि २०७२ सालको बाढीले यहाँका सात घर बिस्थापित भई भालुवनमा पुनस्थापित भएका थिए । बाँकी रहेको विशाल गुरुङ, विशाल घले र धनबहादुर गुरुङको घर परिबार पनि अहिले बिस्थापित भएका हुन् । उनीहरु भागेर माथिल्लो बगरमा बसोबास गरेका छन् ।

अघिल्लो हप्ता जगतभन्दा केही माथिको सल्लेरीको छ घर बूढीगण्डकीले बगाएको थियो ।
‘त्यतिबेला हेलिकोप्टर चढेर सल्लेरी हेर्न आएका आएका सिडियो र एसपीलाई हाम्रो टोल पनि जोखिमछ हेरिदिनुप¥यो भनेर अनुरोध गरेका थियौँ तर उहाँहरुले मान्नु भएन’, स्थानीय पीडित सरिता घलेले भनिन्, ‘गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई पनि भनेका थियौँ । उहाँहरुले पनि मान्नु भएन । अहिले यस्तो भयो ।’ माथिल्लो बगर पनि अहिले जोखिम भइसकेको उनले बताइन् ।




