| आइतवार, कार्तिक २२, २०८३

बुंकोटका सुत्केरीलाई वडा कार्यालयले दियो प्रोत्साहन भत्ता

बुंकोटका सुत्केरीलाई वडा कार्यालयले दियो प्रोत्साहन भत्ता

बुंकोट स्वास्थ्य चौकीमा प्रसुती गराएका २६ जना सुत्केरी महिला तथा तिनीहरुका शिशुको पोषणका लागि प्रोत्साहन गर्दै वडा कार्यालयबाट थप रकम बितरण गरिएको छ । शहिद लखन गाउँपालिका ७ र ८ ले सोमबार एक कार्यक्रम गरी उक्त प्रोत्साहन रकम प्रदान गरेको हो ।
गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीमा प्रसुती गाराउन प्रोत्साहन गर्नुका साथै सुत्ेकरी महिला र शिशुहरुलाई पोषणका लागि नेपाल सरकारले दिने रकम माथी एक हजार छ सय ४० रुपैँया थप गरेर वितरण गरेको वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । सोमबार नेपाल सरकारका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुत्केरी आमाहरुलाई हस्तान्तरण गरी प्रोत्साहन रकम वितरण सुरु गरेका हुन् । ‘हामीले यस कार्यक्रमलाई निरन्तरता दिन्छौँ’ उनले भने ‘यहाँ सुत्केरी भएका आमा र ती बाट जन्मेका बच्चाको स्वास्थ्यमा पोषणको मात्रा पु¥याउन हामी दुई वटा वडा कार्यालयले सानो प्रयासमात्र गरेका हौँ । कुनै वालवालिका पोषणकै कारणले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’ वडा अध्यक्ष श्रेष्ठले स्वास्थ्य संस्थामा प्रसुती गराउन नसके वडा कार्यलयले एम्वुलेन्स खर्च बापत पाँच हजार रुपैँया समेत दिएर अन्यत्रै सेवा लिन पठाउने ब्यवस्था समेत गर्ने तयारी गरेको छ । यो बाहेक सुत्केरी महिलाहरुले स्वास्थ्य चौकीबाट चार पटक स्वास्थ्य जाँच गराएबापत चारसय र सुत्केरी भएपछि यातायात खर्चबापत एक हजार रुपैँया समेत पाउँदै आएका छन् । वडा कार्यालयले यसैमा थप रकम प्रदान गरेको हो । हरेक गर्भवती महिलाहरुले स्वास्थ्य चौकीमा प्रसुती गराएर पोषणयुक्त खानेकुरामा ध्यान दिएमा शिशुहरुको बृद्धि बिकासमा सहयोग पुग्ने शहिदलखन गाउँपालिका वडा नम्बर ८ वडाध्यक्ष काशिनाथ अम्गाईँको भनाई छ । ‘सुत्केरी महिलालाई पोषणमा प्रोत्साहन गर्न हामीले प्रोत्साहन रकम दिएका हौँ’ अमगाईले भने ‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ ।’ आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रमा हरेक वडा कार्यालयले कम्तीमा दश प्रतिशत बजेट लगानी गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनु पर्ने जिल्ला जनस्वास्थय कार्यालय गोरखाका प्रमुख केदारराज पराजुलीले बताए । यस कार्याक्रमले आगामी दिनहरुमा प्रसुती गराउन स्वास्थ्य चौकीमा लैजान प्रोत्साहन गर्ने हुनाले मातृशिशु मृत्युदर कम हुन्छ भन्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले मन्तव्य दिएका थिए । ‘आजको कार्यक्रम गोरखाकै लागि नौलो कार्यक्रम हो’ भट्टराईले भने ‘यस्तो खाले कार्यक्रम ल्याउने सबैलाई जिल्ला प्रशासनको तर्फबाट आबश्यक सम्पूर्ण सहयोग गर्छाैँ ।’ देशभरी अझैँ ४३ प्रतिशत महिलाहरुले स्वास्थ्य संस्था बाहिरै प्रसुती गराउने गरेको भन्दै स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. लोहनीले आफ्नो भनाई राखेका थिए । ‘यो कार्यक्रमले स्वास्थ्य संस्था बाहिर प्रसुती गराउनेको संङ्ख्या कम गर्छ’ उनले भने ‘स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको योग्यता अनुसारको प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्था भन्दा बाहिर प्रसुती गराएमा आमा तथा शिशुको स्वास्थ्यमा समस्या आउन सक्छ ।’
शहिदलखन गाउँपालिका वडा नम्बर ७ बडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा. लोहनी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग गोरखाकी प्रमुख रजनी घिमिरे, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बिमल बस्नेत, रणसिंह दलगणका प्रमुख सेनानी चन्दन सिंह थापा, शहिदलखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवनबहादुर आले लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्