
पालुङटारमा युवा क्लवको भाडा छुट अभियान ‘भाडा तिर्ने पैसाले छाक टरेको छ’
गोरखाको पालुङटारमा स्थानीय युवाहरुको सक्रियतामा ब्यापार ब्यवशाय गर्नेहरुलाई लक्षित गरी भाडा छुट अभियान संचालन गरिएको छ । वौद्ध हिमाल युवा क्लवको सक्रियतामा वडा नम्बर ५ स्थित ठाँटीपोखरी बजार क्षेत्रमा ब्यापार ब्यवशाय गर्नेहरुलाई निषेधाज्ञामा ब्यवशायी बन्द गरेर बस्नुपरेको भन्दै क्लवले भाडा छुट अभियान चलाएको अध्यक्ष किरण गिरीले बताए ।
‘गत वर्ष पनि हामी क्लवका पदाधिकारीले निषेधाज्ञाको समयमा भाडा छुट दिएका थियौँ’ अध्यक्ष गिरीले भने ‘यस पटक हामीले स्थानीय घरधनीहरुलाई पनि अनुरोध गरेर यो अभियान चलाएका हौँ ।’ अहिले सम्म ३५ जना भन्दाबढि ब्यवशायीले भाडा छुट पाएको उनले बताए । ‘करिब ८ लाख रुपैयाँ बरावरको छुट ब्यशायीले पाईसक्नुभएको छ’ उनले भने ।
‘निषेधाज्ञा अवधीभर, कसैले एक महिनाको, कसैले ५० प्रतिशत भाडा छुट दिनुभएको छ’ उनले भने । घरभाडा मात्रै आम्दानीको स्रोत भएकाले पनि केही प्रतिशत छुट गरेका छन् ।
क्लवका पदाधिकारीले घरवेटीलाई भेटेर, टेलिफोन गरेर भाडा छुट दिन अनुरोध गरेका थिए । स्थानीय युवा क्लवको सक्रियतामा भाडा छुट पाएपछि ब्यापार ब्यवशाय गरेर बसेकाहरु खुसी भएका छन् ।
‘गत वर्ष पाँच महिना बन्दमा ५० प्रतिशत भाडा तिरेको थिएँ’ पालुङटारमा चार वर्षदेखि होटल संचालन गर्दै आएका रामकुमार श्रेष्ठले भने ‘बैशाख २० गतेदेखि पूर्ण रुपमा होटल बन्द छ, एक महिनाका भाडा छुट पाएको छु ।’ युवा क्लवको पहलमा घरवेटीले आफुलाई अहिले एक महिनाको भाडा छुट दिईसकेको उनले बताए ।
‘अहिले मासिक ३२ हजार पाँच सय तिर्नुपथ्र्यो, एक महिना भाडा तिर्नु नपर्दा त्यो पैसाले मलाई दुई महिना खान पुगेको छ’ उनले भने । ब्यापार ब्यवशाय नै बन्द गर्नुपर्छ कि भन्ने सोचाईमा पुगेका उनलाई भाडा छुट अभियानले ठुलो राहत मिलेको बताउँछन् ।
घरधनी कृष्णबहादुर श्रेष्ठले आफ्नो दुईवटा सटरबाट मासिक २२ हजार भाडा लिन्थे । गत वर्ष उनले तीन महिना भाडा लिएनन् ।
‘अहिले मैले यो बन्द (निषेधाज्ञा) भरी भाडा छुट दिनेछु’ उनले भने ‘ब्यापारीको आम्दानी केही छैन, कमाई नभएका बेला के भाडा लिनु भनेर छुट दिएको हुँ ।’
उनको सटरमा सैलुन र होटल ब्यवशाय संचालनमा छ । ब्यवशायीले निषेधाज्ञा भरी बन्द गरेकाले आफुलाई भाडा लिने चाहना नभएको उनले बताए ।
‘क्लवका सदस्यहरुले पनि अनुरोध गर्नुभयो, घरसल्लाह गर्दा पनि छुट दिउँ भन्ने भयो अनि मैले भाडा लिईन’ घरधनी श्रेष्ठले भने ।
यो अभियान निरन्तर चलिरहेकाले अझै केही घरधनीले भाडा छुटे दिनुहुने बौद्ध हिमाल क्लवका कोषाध्यक्ष दिपककुमार श्रेष्ठले बताए ।
क्लवले सामाजिक सञ्जालबाट पनि भाडा छुट दिन घरवेटीलाई अनुरोध गरेको छ ।






