
बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा क्षति, (कहाँकहाँ के के भए ?)
तीन दिनदेखि लगातारको बर्षा र त्यसपछिको बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा क्षति पुगेको छ ।
आरुघाट गाउँपालिका २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द चौधरी बेपत्ता भएका प्रहरीले जनाएको छ ।
त्यस्तै चुमनुब्री गाउँपालिका ३ सल्लेरीको चार घर बूढीगण्डकी नदीले बगाएको छ । सात घर उच्च जोखिममा रहेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । त्यस्तै त्यहाँका २७ घरधुरी बिस्थापित भएका उनले बताए ।

सोही ठाउँको घट्टेखोलाले काठेपुल बगाउँदा चुमनुब्री प्रवेश गर्ने बाटो अबरुद्ध भएको छ ।
चुमनुब्री गाउँपालिका १ सामागाउँ नजिकैको बारीमा डाँडाबाट खसेको पहिरोले आलु लगायतका खेतीमा क्षति पु¥याएको छ ।

त्यसैगरी लगातारको बर्षापछिको माछाखोलामा आएको बाढीले धार्चे गाउँपालिका ५ माछाखोला बजार जोखिममा पारेको छ । माछाखोलाको खच्चड बिसौनीको चहुर कटान गरेको छ । त्यहाँका १० वटा अस्थायी टहरा बिस्थापित भएका प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

त्यस्तै बूढीगण्डकीको बाढीले माछाखोला बजारभन्दा तलको चार रोपनी जग्गा कटान गरेको छ ।
धार्चे ५ सिङ्लाको आइतपाल गुरुङको गोठ पहिरोले बगाउँदा सातवटा गाईबस्तु बगेका छन् । सर्किनी गुरुङको घर जोखिममा रहेको वडा अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै रइसीखोलाको बाढीले गुम्दागाउँभन्दा तलको जमिन बगाएको उनले बताए । गुम्दाको कर्णबहादुर गुरुङ र यमगाउँको सामुदायिक होमस्टे, कर्मान र छविलाल गुरुङ जोखिममा रहेको उनले बताए ।

पहिरोले माछाखोलाबाट लप्सीबोट जाने निर्माणाधीन सडक क्षतविक्षेत बनाएको वडाअध्यक्ष गुरुङले जानकारी दिए ।
त्यस्तै दरौँदी नदीमा आएको बाढीले बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङे बजारको सुरेश सुनार र सन्तबहादुर बिकको घर जोखिममा पारेको छ । दरौदीले बगाएर त्यहाँको १० मिटर सडक बगाएको प्रहरीले जनाएको छ ।
भीमसेन थापा गाउँपालिका ४ धावाकी पम्फा परियारको घर बर्षाका कारण भत्किएको छ । मझुवाको मस्र्याङ्दी पुलबाट मनकामना जाने सडक पनि क्षतिग्रस्त भएको छ । मस्र्याङ्दी नदीमा गएको पहिरोले सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने सडक बगाएको हो ।

त्यस्तै दरौँदीनदीको बाढीले बगाएर सिरानचोक ४ सेराफाँटको करिब दुईसय रोपनी जग्गामा क्षति पुगेको छ । त्यहाँको एकसय ५० मिटर लामो नहर पनि बगाएको प्रहरीले जनाएको छ ।




