
गोरखाको सल्लेरी गाउँमा बूढीगण्डकी पस्यो, चार घर बगायो, गाउँलेको रातभर भीरपाखामा जाग्राम
तीनदिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन् ।
२७ घर रहेको सल्लेरीको चार घर बगाइसकेको छ भने अरु घर पनि जोखिममा रहेको स्थानीय गणेश कार्कीले जानकारी दिए ।

‘राती आठबजेतिर घर बगाउन थालेपछि गाउँका सबैको भागाभाग भयो’, उनले भने, ‘सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाइसकेको छ’, उनले भने, ‘अरु घर पनि जोखिममा रहेकाले मान्छेहरु त्यहाँबाट भागेर रातभर पाखापखेरामा बसेर बिताए ।’

खान र सुत्न नपाउँदा गाउँमा रुवाबासी भएको उनले बताएका छन् । ‘रातभर पानी परिरहेको छ । ओत लाग्ने ठाउँ पनि छैन’, उनले भने, ‘खान पा’को नि छैन, सुत्न पा’को नि छैन । सल्लेरीमा बिजोक छ ।’ जगत चौकीबाट गएको प्रहरीले बाटोमुनिको सबै घर खालि गरेर त्यहाँ नजान उर्दी गरिसकेको र बाटो माथिका घरबाट पनि अहिले बिहान धमाधम सामान सार्ने काम भइरहेको उनले बताए ।

त्यस्तै जगतको तल्लो टोलको विशाल हिमाली घले, विशाल गुरुङ र धनबहादुर गुरुङको घरका परिबार पनि बिस्थापित भएका छन् । नदी घर नजिकै आइसकेकाले घर खालि गरेर उनीहरु माथिल्लो टोलमा सरेका कार्कीले जानकारी दिए ।

तस्वीरहरु सबै सौजन्य : गणेश कार्की, जगत




