| आइतवार, कार्तिक २२, २०८३

लिची बेचेर मनग्य आम्दानी हुन थालेपछि किसान उत्साहित

गोरखाको लिची ब्लक भनेर चिनिने पालुङटार नगरपालिकामा यतिबेला लिची बिक्री गर्ने सिजन सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ पौवाटार, खत्रीटार, वडा नं. ७ को बिरुवाटार लगायतका सबै क्षेत्र, वडा नं. ८ को रातामाटे, डुँडाटार लगायतका क्षेत्रका किसान अहिले लिची बेच्नमा व्यस्त छन् ।


यस क्षेत्रको करिब तीनहजार पाँचसय रोपनी क्षेत्रमा लिची बँगैचा रहेको छ । ठूलो क्षेत्रमा लिची खेती हुन थालेपछि कृषि ज्ञानकेन्द्रले यस क्षेत्रलाई लिची ब्लक घोषणा गरेर विभिन्न कार्यक्रम लागु गरेको छ ।
लिची बेचेर सिजनमा यस क्षेत्रका किसानले १० करोडदेखि १२ करोड रुपैयाँसम्म भित्र्याउने संयुक्त लिची ब्लक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । लिची पाक्ने सिजनमा काठमाडौँ, पोखरा, चितवन, झापा र भारतदेखिका व्यापारीहरु बँगैँचामा किन्न आउने उनी बताउँछन् ।

लिची बेचेर मनग्य आम्दानी हुन थालेपछि किसानहरु पनि खुशी भएका छन् ।
‘धान, मकै खेतीभन्दा किसानलाई लिचीबाट १० गुना बढि फाइदा हुने रहेछ’, गुरुङ भन्छन्, ‘त्यसैले किसानहरु लिची खेतीमा लागेका छन् । मोटामोटी अनुमान गर्दा दुईसय जना किसानले १०, १२ करोड रुपैयाँ आन्दानी गर्छन् ।’
लिची बिक्रीका लागि जारी निषेधाज्ञाले पनि असर नगरेको बँगैचामा आएका व्यापारीहरुको भनाइ छ । फलफूल किन्न, बेच्न तथा ओसारपसारमा निषेधाज्ञाले केही असर नगर्ने गुरुङको बँगैचाको ठेक्का लिएका एक व्यापारीले बताए ।


लिचीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका किसानहरु अन्नबाली हुने खेत बारीमा धमाधम लिची खेती गर्न थालेका छन् । कम दुख गरेर मनग्य आम्दानी हुने भएपछि लिचीमा किसानहरुको लगाव बढेको अध्यक्ष गुरुङको भनाइ छ ।
१० बोट भन्दा धेरै लिची लगाउने किसानलाई लिची ब्लक समितिमा आवद्ध गराउने गरिन्छ । अहिलेसम्म दुईसय जना भन्दा धेरै किसानहरु लिची ब्लक सञ्चालन तथा समन्वय समितिमा आवद्ध भएको समितिका कोषाध्यक्ष सुब्बा पन्तको भनाइ छ ।


समितिमा आवद्ध भएका किसानलाई कृषि ज्ञानकेन्द्र तथा नगरपालिका कार्यालयले सहयोग गर्ने गरेको छ । सरकारले लिची ब्लकका किसानलाई औषधी, विषाधी छर्कने मेसिन, लिची टिप्ने भ¥याङ, हाते ट्याक्टर, सिँचाइका लागि प्लास्टिक पोखरी, खोल्सी छेकेर बाँध बनाउने जस्ता कार्यक्रममा सहयोग गरेको पन्तले बताउनु भयो ।


अझै धेरै सहयोगको खाँचो रहेको स्थानीय लिची व्यवसायी राजेश काफ्लेको भनाइ छ । ‘हावापानीले गर्दा यहाँका किसानलाई लिची खेती गर् भनेको छ । जति मल र सिँचाइ भयो उति नै राम्रो हुने भएकाले यो सुख्खा टारमा सिँचाइको व्यवस्था गरिदिनु अत्यन्त खाँचो छ’, उनले भने, ‘जति उत्पादन भए पनि बजारको समस्या नहोस् भन्नका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले यहाँ नै लिचीको कच्चा जुस प्रशोधन गर्ने उद्योग स्थापना गर्नुपर्ने देखिन्छ ।’
यस क्षेत्रमा २०३० साल देखि लिची खेती सुरु गरिएको हो ।

यहाँका किसानले कम्तीमा १० वटा बोटदेखि दुईसयवटा बोटसम्म लिची लगाएका छन् । बगैँचाबाट प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँका दरले लिची बिक्री भइ रहेको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्