
सांसद दवाडीद्वारा गम्बाङ, कोलस्वाँरा र ठोट्नेरीमा स्वास्थ्य सामग्री वितरण
कोरोना संक्रमण तीब्र रुपमा फैलिएको बारपाक सुलीकोटको वडा नं. ४ को कोलस्वाँरा, वडा नं. ३ को गम्बाङ र ठोट्नेरीमा सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
बिहिबार संक्रमितका घरघरमा पुगेर सांसद दवाडीले आफ्नो नीजि खर्चमा स्वास्थ्य सामग्री खरिद गरी घरघरमा वितरण गरेका हुन् ।
संक्रमितहरुलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्छ भन्ने लागेर अण्डा, भिटामिन सि, भिटामिन डीका चक्की वितरण गरेको सांसद दवाडीले जानकारी दिए । दूर दराजका गाउँबस्तीका संक्रमितमा सबैको नजर पुग्न नसक्ने भएकाले आफू घरघरमा गई पोषणयुक्त खानेकुरा, मास्क, सेनिटाइजर वितरण गरेको उनले बताए ।
बालुवा बजारका केही संक्रमितलाई पनि स्वास्थ्य सामग्री वितरण गरेको उनले बताए ।
साथै विभिन्न सहयोगीहरुबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर शुक्रबार स्वाँरा र सौरपानीका स्वास्थ्यचौकीलाई प्रदान गर्ने उनले बताए ।




