| आइतवार, कार्तिक २२, २०८३

गोरखामा मास्क रु ५ मा बेच्न प्रशासन को निर्देशन

गोरखा सदरमुकाममा तीन रुपैयाँ पर्ने सामान्य खालको सर्जिकल मास्कलाई १० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको औषधी पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको सहायक प्रजिअ कमलराज भण्डारीले बताए ।

‘सामान्य मास्कलाई पाँच रुपैयाँमा बिक्री गर्न भनेका छौँ’, उनले भने, ‘आफ्नो परेको मूल्यमा २० प्रतिशत सम्म नाफा राखेर ब्यापारीले बिक्री गर्न पाउँछन्, तीन चार रुपैयाँको मास्क पाँच मा बिक्री गर्दा ठिकै देखिन्छ ।’ अहिले बजारमा १० रुपैयाँ लिने गरेको र त्यो महँगो भएकाले अनुगमनका क्रममा औषधी पसललाई निर्देशन गरिएको उनले बताए ।

गोरखा सदरमुकामका १६ वटा औषधी पसलको अनुगमन गरिएको छ । ती मध्ये सातवटाले कागजपत्र पूरा नगरेको, औषधी ब्यवस्था बिभागमा दर्ता गरेको, नगरपालिकामा दर्ता नगरेको, कतिपय आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए ।

‘कागजपत्र पूरा नभएकालाई आइतवार प्रशासन कार्यालय बोलाएका छौँ’, उनले भने, ‘कागजात पूरा गरेर ब्यवशाय गर्न निर्देशन दिएका छौँ ।’
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका, घरेलु कार्यालय, स्वास्थ्य कार्यालयका प्रतिनिधि सहितको टोली सहभागी थिए । सहायक प्रजिअ भण्डारीले औषधीको तोकिएको मूल्य मात्रै लिन र महामारीका बेला नाफालाई भन्दा सेवालाई जोड दिन ब्यवशायीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्