| आइतवार, कार्तिक २२, २०८३

अनलाइन परीक्षाको शुल्क नलिन अनेरास्ववियूको आग्रह

जिल्लाका कतिपय नीजि तथा संस्थागत विद्यालयले अनलाइन परीक्षाको नाममा अतिरिक्त शुल्क लिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गोरखाले विरोध जनाएको छ ।
बुधबार एक प्रेस वक्तब्य जारी गर्दै अनेरास्ववियुले यस्तो असहज परिस्थितिमा समेत अनलाइन परीक्षाका नाममा सदरमुकामका केहि नीजि स्कुलहरुले शुल्क तिर्न अभिभावकहरुलाई बाध्य बनाएको भन्दै बिरोध जनाएका हुन् ।

अनेरास्वयुवियुका जिल्ला अध्यक्ष सचिन भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ‘अनेरास्ववियु गोरखालाई प्रमाणसहित सूचना प्राप्त भएअनुसार गोरखा सदरमुकाममा सञ्चालित केहि नीजि स्कूलले अनलाइन परीक्षाका नाममा अतिरिक्त शुल्क लिइरहेको पाइएकाले यस्तो निषेधाज्ञाका समयमा पनि विद्यार्र्थी अभिभावक को ढाड सक्नेगरी आर्थिक, मानसिक दवाव दिएको घटनाले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ’, भनिएको छ ।
नेकपा एमाले (माधव(झलनाथ समुह) निकट विद्यार्थी संगठनले विज्ञप्ती मार्फत चार बुँदे माग समेत राखेको छ ।

जसमा अनलाइन परीक्षाको नाममा लिइएको रकम तत्काल फिर्ता गर्न, निषेधाज्ञाका समयमा समेत भौतिक रुपमा उपस्थित भएर अभिभावक लाई मासिक शुल्क तिर्न बाध्य नबनाउन, शुल्क तिर्न दिइएको अल्टिमेटम फिर्ता लिन र आगामी दिनमा आउन सक्ने महामारीको समयमा कुनै प्रकारका दवाव सृजना नगर्न माग गरेको हो ।
सो बिषयमा मंगलबार एक अपिल प्रकाशित गर्दै प्याब्सन गोरखाले समेत त्यस्ता कार्य नगर्न र नगराउन जिल्लाका सम्पूर्ण नीजि विद्यालयलाई आग्रह गरिसकेको छ ।

शुल्कको बिषयमा बराहस्थित फुलबारी पाठशालालाई गोरखा नगरपालिकाको शिक्षा शाखाले मौखिक स्पष्टिकरण समेत सोधी परीक्षाका नाममा लिइएको शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्