
गण्डकी प्रदेशसभाको नैतिकताको प्रश्न रेकर्डबाट हटाउन आदेश
दरौँदी : गण्डकी प्रदेश सभामा सत्तारुढ एमाले सांसद मनबहादुर गुरुङले नैतिकताको प्रश्न उठाएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको भनाइ रेकर्डबाट हटाउन आदेश गरेका छन् । अर्थमन्त्री किरण गुरुङले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा केही दिनयता संसदमा सत्ता र प्रतिपक्ष सांसदबीच सरकारको नैतिकतामाथि तर्कवितर्क चलि रहेको छ ।
प्रतिपक्ष सांसदलले अल्पमतबाट बनेको एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारसँग बजेट ल्याउने र त्यसको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने नैतिकता नभएको भन्दै आलोचना गर्दै आएका थिए । बुधबारको बैठकमा सत्तारुढ एमालेका सांसद मनबहादुर गुरुङले त्यसको प्रतिरक्षामा बोलेका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पृथ्वीसुब्बा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत नपाउँदै बजेटको तयार गरी सिद्धान्त र प्राथमिकता पेस भएको भन्दै विपक्षी सांसदले नैतिकताको प्रश्न गरेका हुन् ।सांसद गुरुङले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि १६ वैशाखमा मत विभाजन हुने गरी निर्धारित प्रदेश सभा बैठक कसले आकस्मिक रुपमा स्थगन गरेको थियो ? भन्ने बुधबारको बैठकमा प्रश्न गरेका थिए । उनले कार्य व्यवस्थामा बस्नेले राजीनामा दिनुपर्दैन ? भन्ने प्रश्न गरे । कार्य व्यवस्थाको प्रमुख सभामुख र अरु सदस्य दलका प्रतिनिधि हुन्छन् ।




