
बारपाकमा नौ बेडको आइसोलेशन तयार
कोभिड १९ तीब्र रुपमा फैलिरहेको बारपाकमा नौ बेडको आइसोलेसन तयार भएको छ । बारपाक सुलीकोट गाउँपालिका तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा युवाहरुले आइसोलेसन निर्माण गरेको स्थानीय खेमराज घलेले जानकारी दिए ।
बारपाक स्वास्थ्य चौकीसंगै रहेको आमा समुहको भवनमा अक्सिजनसहित नौ बेडको आइसोलेसन निर्माण गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले सो आइसोलेसनका लागि आरुघाट प्राथमिक स्वास्थ्यकेन्द्रका चिकित्सक कृष्णचन्द्र श्रेष्ठको नेतृत्वमा स्वास्थ्य टिम पठाएको छ । सो टिममा गोरखा अस्पतालबाट एकजना हेल्थअसिस्टेण्ट, एक स्टाफ नर्स र स्वास्थ्य कार्यालयबाट एकजना ल्याब टेक्निसियनको ब्यवस्था भएको गाउँपालिकाका कोरोना फोकल पर्सन कृष्ण भट्टले जानकारी दिए ।
दुईसय ६५ जना संक्रमित भएका बारपाकमा अहिले एकसय उनान्सय जना मात्र सक्रिय संक्रमित छन् । ६३ जना कोरोनामुक्त भइसकेका भट्टले बताए ।
जेठ महिनाको दुई हप्तामै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामीहरुमध्य १४ जनाको मृत्यु भएको थियो । सो घटनापछि प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्लाको स्वास्थ्य टोली बारपाक पुगेर कोरोना परीक्षण तथा उपचार सेवा सञ्चालन गरेको थियो ।
यससंगै बारपाक सुलिकोट गाउँपालिका भरमा आइसोलेसनको संख्या २५ पुगेको छ । यसअघि सौरपानीमा ५, ताकुमाझलाकुरीबोटमा पाँच र पाँचखुवा देउरालीमा पाँच शैयाको आइसोलेसन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
हाल पालिकाले सबै वडामा कोरोना परिक्षणलाई समेत ब्यापकता दिएको जनाएको छ । यसअघि पिसिआर माध्यमबाट परिक्षण गर्दा रिपोर्टमा भएको ढिलाईका कारण झनै संक्रमण फैलिने जोखिमका कारण अहिले भने एन्टिजेन माध्यमबाट मात्रै परिक्षण गरिएको भण्डारीको भनाई छ ।




