
अब गोरखामा तोरीको तेल किन्दा भटमासको तेल किन्नु नपर्ने
गोरखामा अब तोरीको तेल किन्दा भटमासको तेल किन्नैपर्ने बाध्यकारी नियम हटेको छ ।
गोरखाका व्यापारी, व्यवसायीहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले तेल उद्योग रहेको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी मिलहरुबाट तोरीको तेल सहज आयातको व्यवस्था गरेका हुन् ।
अब खानेतेलका थोक बिक्रेताले पनि तोरीको तेल किन्दा मिलले भटमासको तेल बाध्यात्मक रुपमा भिडाउन नपाउने भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
‘तोरीको तेल किन्दा भटमासको तेल पनि किन्नैपर्ने बारेमा पत्रपत्रिकामा समाचार आए । यसबारेमा बुझ्न बजार अनुगमन गरियो । थोक व्यापारीहरुसँग अन्तरक्रिया गर्दा तेल उद्योगले नै माग नगरिएका भटमासको तेल पठाउने गरेको जानकारी आयो’, प्रजिअ पौडेलले भने, ‘त्यसपछि मिल रहेको बारा जिल्लाका प्रजिअसँग समन्वय गरी त्यहाँका तेल उद्योगीहरुसँग छलफल गरी अबका दिनमा माग नभएका तेल नपठाउने बारेमा समझदारी बनेको छ । अब यहाँका व्यापारीले पनि आवश्यक नभएको तेल किन्नु पर्नेछैन । किराना पसले र उपभोक्ताले पनि आफूले चाहेको तेल मात्र किन्न पाउने भएका छन् ।’
यसअघि दरौदी दैनिक पत्रिकामा तोरीको तेल किन्न भटमासको तेल पनि किन्नै पर्ने बाध्यात्मक अबस्थाको बारेमा समाचार प्रकाशन भएको थियो ।




