
सोमवार गोरखामा २३० जनाले दोस्रो डोज कोरोना खोप लगाए
गोरखामा सोमवार दुई सय ३० जनाले दोस्रो मात्रा कोरोना खोप लगाएका छन् । गोरखा नगरपालिकाको केन्द्रमा ९३ कोभिसिल, १५ भेरोसिल, पालुङटार नगरपालिकामा ५० कोभिसिल, १८ भेरोसिल र सिरानचोक गाउँपालिकाको थालाजुङमा ४४ कोभिसिल र १० भेरोसिल खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘अब मंगलवार भिमसेन थापा गाउँपालिकाको खान्चोकमा खोप कार्यक्रम संचालन हुनेछ’ स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने । आईतवारदेखि सुरु भएको खोप अभियानमा दुई दिनमा चार सय २० जनाले दोस्रो मात्रा लगाएका छन ।
गत फागुन १२ गतेअघि पहिलो मात्रा खोप लगाएकालाई मात्र कार्यालयले यो पटक दोस्रो डोज खोप दिइएको छ ।
स्वास्थ्य कार्यालयले जेठ १८ गतेसम्म दोस्रो डोज खोप लगाउने छुटेकालाई लगाउने कार्यतालिका तयार गरेको छ । सो अनुसार सात सय जनालाई कोभिसिल र दुई सय २० जनालाई भेरोसिल खोप दिने लक्ष्य रहेको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । तर लक्ष्य अनुसार खोप लगाउन मानिस आएका छैनन् ।




