
फ्रेन्च संस्थाद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री
फ्रान्सको एएफपीएन नामक सामाजिक संस्थाले गोरखा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संस्थाले पठाएको एकलाख ९० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी संस्थाका आमन्त्रित सदस्य ब्रदी मास्केले मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेललाई हस्तान्तरण गरेका हुन् ।
‘पारामेडिकल फर्मेसन इन नेपालमार्फत प्राप्त उक्त स्वास्थ्य सामग्री हामीले अस्पताललाई हस्तान्तरण गरेका छौँ’, मास्केले भने, ‘गाउन, बेड साइड लकर १२ थान, १६ लिटरको स्प्रे २ थान, सुकभर ५०० थान, फेस शिल्ड र फेस शिल्ड स्क्राप दुईदुईसय थान रहेका छन् ।’
यसअघि दुर्गम क्षेत्रका युवायुवतीहरुलाई सिएमए तथा स्टाफ नर्स अध्ययनका लागि सहयोग गर्दै आएको सो संस्थाले अहिले कोरोनाको महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उनको भनाई छ ।




