| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशका मन्त्री, सांसद, स्वास्थ्य निर्देशक सहित चिकित्सकको टोली बारपाकमा

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहितको टोली बारपाक पुगेको छ ।


दुई जना विषेशज्ञ डाक्टर, एक जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एक जना मनोसामाजिक परामर्शकर्ता र एक जना जनस्वास्थ्य अधिकृत सहितको टोली बारपाक पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए ।


त्यहाँ पुगेर उक्त टोलीले घरघरै बिरामीको जाँच गर्नेछ । कोरोनाको लक्षण भएकाले परीक्षण नगराएको हुँदा उनीहरुलाई सचेतना जगाउन स्थानीय अगुवालाई परिचालन गरिने, मनोसामाजिक परामर्श दिने, उपचार गर्ने र औषधी बितरणको काम चिकित्सक सहितको टोलीले गर्नेछ ।

ऐन्टिजेन, पिसिआर दुबै जाँच गरिने निर्देशक शर्माले बताए । ‘त्यहाँ उपचार गर्न नसकिएकालाई गोरखा अस्पताल र गोरखामा पनि नसकिएकालाई पोखरा लगेर उपचार गर्नेछौँ’ निर्देशक शर्माले भने । जिल्लाबाट पनि डाक्टर सहितको एक टोली बारपाक गएको छ । चिकित्सकको टोली दुईदेखि तीन दिन सम्म त्यहाँ रहनेछन् ।


संक्रमण दर बढेको र लागातार मानिसको मृत्यू हुन थालेपछि गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक लिएर सरकार प्रवक्ता समेत रहेका मन्त्री बस्नेत आफैँ बारपाक पुगेका हुन् । सँगै गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, धनमाया लामा पोखरेल पनि बारपाक पुगेका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीको थप टोली पठाएको जनाएको छ । लगातार वर्षातका कारण बारपाक जाने कच्ची सडकमा यात्रा गर्न भने त्यसतर्फ हिँडेका टोलीलाई सास्ती भएको छ । बारापकमा जेठ १ गतेयता मृत्यू हुनेको संख्या १३ पुगेको छ ।

तस्वीरहरु सौजन्य : खेमराज घले

प्रतिक्रिया दिनुहोस्