
बारपाकमा मृत्यूदर बढ्यो : जेठ लागेदेखि १२ जनाको मृत्यू परीक्षण छैन, स्वास्थ्य मापदण्डको धज्जी
गोरखाको बारपाक गाउँमा कोरोनासँग मिल्दोजुल्दो रोगबाट मर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । गएराती मात्रै तीन जनाको मृत्यू भएको स्थानीय जीतबहादुर घलेले जानकारी दिए ।
एकै रातमा मृत्यू हुनेमा एक महिला र दुई पुरुष हुन् । उनीहरु सबैमा रुघाखोकी, ज्वारो तथा स्वासप्रस्वासको समस्या रहेको उनको भनाइ छ ।
यसअघि बुधबार तीन जनाको मृत्यू भएको थियो । उनीहरुमध्य एकजना उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यू भएको हो । दुईजनाको गाउँमै मृत्यू भएको घलेले जानकारी दिए ।
लगालग दुई दिनमा मर्ने छ जनामै रुघाखोकी, ज्वारो र स्वाशप्रस्वाशको समस्या रहेको उनले बताए ।
‘बैशाखको मसान्तिमा एक जनाको मृत्यू भएको थियो । जेठ लागेपछि मात्रै १२ जना मरिसके’, घलेले भने, ‘दिनदिनै तीनचार जनाको मलामी जानु परेको छ । अबस्था डरलाग्दो भयो ।’ मृतकहरु सबैको स्थानीय परम्पराअनुसार आफन्तहरुले अन्त्यष्टि गर्ने गरेका छन् । ‘आफन्त खलक गर्दा एकजनाकै एकडेढसय भन्दा धेरै मलामी हुन्छन् । आजै तीनजनाको मलामी चार जना भन्दा धेरै छौँ’, घलेले भने, ‘दिनदिनै यस्तै भइरह्यो भने त चिहानडाँडा भरिने भयो ।’ सुविधासम्पन्न आइसोलेशनको अत्यन्तै खाँचो परेको उनले बताए ।
बारपाकमा अहिलेसम्म ४४ जनाको एण्टिजेन पोजेटिभ र पिसिआर १९ जना पोजेटिभ रिपोर्ट आएको छ । दुई पटकसम्म परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली जाँदा बिरामीहरु परीक्षण गर्न नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट बताउँछन् ।
रोग फैलिएपनि बारपाकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छैन । मलामीमा सय, डेढसय जना भन्दा धेरै जाने गरेका छन् । मेलापात, घाँसदाउरा गरिरहेका छन् । ‘गाउँघर यस्तै हो, काम नगरी हुदैन । धमाधम मकै गोड्ने बेला छ । कोदो रोप्ने बेला भएको छ । काम गर्नै प¥यो’, घले भन्छन्, ‘यहाँ सरकारले विशेष पहल गरे मात्र समस्या समाधान हुनुपर्छ ।’
बारपाकको अबस्था नियन्त्रणभन्दा बाहिर पुगिसकेको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको भनाइ छ । आफ्नो क्षमताले भेटेजति काम गरिरहेको उनले बताए । ‘बारपाकको स्थिति हाम्रो नियन्त्रणभित्र छैन । डाक्टरसहितको स्वास्थ्य टोली र सुरक्षाकर्मीको टोली यहाँ नभै भएन भनेर मैले एकहप्ताअघिदेखि नै सिडियोसाबलाई भन्दै आएको छु । प्रदेश, संघ जहाँ सक्छु पहुँच भएजति ठाउँमा भनिरहेको छु । तर सुनुवाइ नै भएको छैन ।’ पालिकाबाट दुई पटकसम्म स्वास्थ्य कर्मीको टोली पठाउँदा स्थानीयबासी परीक्षण गर्नै नमान्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शालिकग्राम पौडेलले भने परीक्षणका लागि स्थानीयबासीलाई बाहिर निकाल्न स्थानीय सरकार खटिनुपर्नेमा जोड दिन्छन् । ‘संघीयता आइसकेको अबस्थामा पालिकाको भूमिका ठूलो हुन्छ । सकेको व्यवस्थापन त्यहीँ गर्नू, नसके जिल्लामा पठाउनू भनिरहेको छु’, प्रजिअ पौडेलले भने, ‘जनप्रतिनिधि, राजनीतिक दलले स्थानीयबासीलाई रोग परीक्षण गर्न बाहिर निकाल्न त सक्नु भएको छैन ।’ बारपाकको समस्या समाधानका लागि आज विशेष छलफल गरेर अघि बढ्ने उनले बताए ।




