| सोमवार, कार्तिक २३, २०८३

गोरखामा जेठ १६ देखि दोस्रो डोज कोरोना खोप लगाईने

कोभिसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले जेठ १६ गतेदेखि खोप लगाउने भएको छ ।

जिल्ला खोप समन्वय समितिको बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो मात्रा छुटेकालाई खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जेठ १६ र १७ गते गोरखा नगरपालिका भित्र कर्बडहलमा, जेठ १७ गते पालुङटार र अजिरकोट गाउँपालिका भित्रका सहित सिरानचोक गाउँपालिकाको थालाजुङ स्वास्थ्य चौकीमा खोप लगाउने तालिका कार्यालयले सार्वजनीक गरेको हो ।

१६ गते नै गण्डकी र शहीदलखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकीमा, १८ गते बारपाक सुलिकोट, आरुघाट र भीमसेन थापा गाउँपालिकाको खान्चोक स्वास्थ्य चौकीमा खोप लगाउने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
यी सबै पालिकामा गरी सात सय डोज कोभिसिल खोप आवश्यक पर्नेछ । यस अघि जिल्ला बाहिर पहिलो डोज लगाएर निषेधाज्ञाका कारण दोस्रो डोज लगाउन नपाएकालाई पनि जिल्ला भित्रै खोप दिईने कोल्डचेन निरीक्षक खत्रीले बताए ।

कार्यालयले भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई पनि दिने तयारी गरेको छ । यस अघि गोरखामा भेरोसिल खोप लगाइएको छैन । अन्यत्र जिल्लामा लगाएका र निषेधाज्ञाका कारण खोप लगाउनबाट बञ्चित भएकालाई भेरोशिल खोप दिईने केन्द्रमा नै दिईनेछ । खोप लगाउन आउनेहरुले पहिलो मात्रा लगाएको खोपकार्ड भने अनिवार्य ल्याउनुपर्ने कोल्डचेन निरीक्षक खत्रीले बताए ।
भेरोसिल खोप दुई सय ३५ जना र कोभिसिल सात सय जनालाई लगाउने लक्ष्य कार्यालयको छ । खोप कार्यक्रम सञ्चालन गर्न पाँच जना खोप कार्यकर्ता र १२ जना स्वयमशेबक खटिनेछन् । गोरखामा २३ हजार तीन सय जनाले कोभिसिल खोपको पहिलो मात्रा लगाएका थिए ।

यी मध्ये तीन हजार चार सय ७६ जनाले दुबै मात्रा पुरा गरे भने १९ हजार आठ सय २७ जनाले अझै दोस्रो मात्रा लगाउन बाँकी छ । अभियानको दोस्रो चरणमा पहिलो डोज लगाएकाले थप मात्रा कहिले लगाउने भन्ने यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्