| आइतवार, कार्तिक २२, २०८३

आज बारपाकका दुई जनाको मृत्यू, एक साता भित्रै मृत्यू हुनेको संख्या छ पुग्यो

आज (मंगलबार) एकैदिन बारपाकका दुई जनाको मृत्यू भएको छ । दलित बस्तीको एक र साबिक वडा नं. ८ का एकको मृत्यू भएको स्थानीबासीले जानकारी दिए ।

उनीहरुमध्य एकजनामा कोभिड पोजेटिभ रहेको र अर्को एकजनाको परीक्षण नै गर्न नपाएको स्थानीयले जानकारी दिए । उनी पनि कोरोनासँग मिल्दोजुल्दो लक्षणबाट ग्रसित रहेको थिए ।


एघारसय घरधुरी एकैठाउँमा झुरुप्प रहेको बारपाक गाउँमा एकसातामै रुघाखोकीबाट छ जनाको मृत्यू भएको छ । मृत्यू भएकामध्य तीनजना कोभिड पोजेटिभ रहेका र बाँकीको परीक्षण नगरिएको स्थानीयबासीको भनाइ छ ।


‘दलित बस्तीमा एक दिन बिराएर दुईजनाको मृत्यू भयो’, स्थानीय गगन बिक भन्छन्, ‘आज मर्ने एकजना कोभिड पोजेटिभ नै हुन्, दुई दिनअघि मर्ने पनि रुघाखोकीले सिकिस्तै भए । सास फेर्न नसकेर हेल्थपोष्ट लगेका थिए । यहाँ सक्दैन, अन्तै लैजानू भनेर पठाएको लैजान नपाई मृत्यू भयो ।’ अरु दुईजना पनि सिकिस्त भएपछि राती नै एम्बुलेन्समा राखेर गोरखा अस्पताल पठाइएको उनले बताए ।


त्यसअघि मृत्यू भएकाहरुमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको अर्का स्थानीय गौतम गुरुङ बताउँछन् । ‘एकजना भैरहवाबाट पेन्सन बुझेर फर्किएको चार दिनमै रुघाखोकी, ज्वारोले सिकिस्त भएर मृत्यू भएको हो । त्यसको भोलिपल्ट एक जना मिस रुघाखोकी र ज्वारो बिग्रिएर निमोनियाँ भएर मृत्यू भयो’, उनले भने, ‘त्यसको भोलिपल्ट दुम्सिकामा मर्ने एकजना पुरुषमा पनि एण्टिजेन जाँच गर्दा पोजेटिभ पुष्टि भएको थियो ।’ गाउँमा बिरामीको संख्या धेरै रहेको उनको भनाइ छ ।


बारपाकमा घरघरै बिरामी भएको खबर पाएपछि गाउँपालिकाको स्वास्थ्य टोलीले गत जेठ १ गते स्वाब संकलन गरी परीक्षणका लाग पोखरा पठाएको थियो । तर अहिलेसम्म रिपोर्ट नआएको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट बताउँछन् ।

बिरामी संख्या धेरै भएर पनि स्थानीयबासी परीक्षण गर्न नमान्ने उनी गुनासो गर्छन् । ‘बिरामी धेरै छन् भनेर तीनसय ५० जनाको एण्टिजेन परीक्षण गर्ने तयारीमा गएका थियौँ । जम्मा १८ जनाको बल्लतल्ल फकाइफुल्याई एण्टिजेन परीक्षण गरियो । ११ जनाको पोजेटिभ आयो’, उनले भने, ‘परीक्षण गर्नै मान्दैनन् । बारपाकको बस्ती सहरको जस्तो, मान्छे गाउँका जस्ता । दुम्सिका टोलमा एकजना पोजेटिभ देखिएका बिरामीको मृत्यू भएपछि कन्ट्याक ट्रेसिङ गर्न गयौँ । कसैले पनि टेस्ट गराएनन् ।’


तर बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङ भने प्राय दमको समस्याले मृत्यू भएको बताउँछन् । ‘माथि लेकमा हिउँ परेको छ । यहाँ गाउँमा चिसोले दम भएर मरेको हुनसक्छ’, उनले भने, ‘ठूलो गाउँ छ, रुघाखोकीका बिरामी त पहिले पनि यस्तै हो, अहिले पनि यस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्