
जुँगा पालेको तलब बुझ्छन् कालीबहादुर
सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र रु तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आइरहेका छन् ।
घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् ।
दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक २५० रूपैयाँ प्रदान गर्ने गरेका छन् ।
‘म पेशाले निर्माण व्यवसायी हुँ। कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो’, भण्डारीले भने, ‘नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।’ २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताउँछन् ।




