| सोमवार, कार्तिक २३, २०८३

गाउँका युवा स्वतस्फूर्त जाग्नु प्रशंसनीय

अहिले विश्वमै विशेषगरी हामी(नेपाली) कोभिड १९ को केन्द्रविन्दूमा छौँ ।

छिमेकी मित्रराष्टू भारतबाट नेपाल प्रवेश गरेको कोरोना भाइरसको ‘इण्डियन भेरियण्ट’ले हामीलाई सिकिस्त बनाइरहेको छ । पहिलो चरणको भाइरस भन्दा कैयौँगुना शक्तिशाली यो संस्करणले नेपाली समाज त्राहिमाम छ ।
अमेरिकालगायतका शक्तिशाली मुलुकले कोभिड खोपलाई तीब्र रुपमा विकास ग¥यो र अहिले मास्कमुक्त देश बनाउने चरणमा पुगेका छन् ।

एशियाकै दुबई, कतार लगायतका सम्पन्नशाली मुलुक पनि मास्कफ्रि घोषणा गर्ने अबस्थामा छन् तर नेपाल लगायत भारतको किनारामा रहेका श्रीलंका, भुटान, म्यानमार, बंगलादेश पनि यसबाट आक्रान्त छन् ।
अझै विशेषगरी अहिले सहरी क्षेत्रभन्दा ग्रामीण बस्तीहरुमा कोरोना व्यप्त छ । यसको मूल कारण भनेको नै भौतिक दुरी कायम गर्न नसक्नु, सिसिएमसीले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना नगरी लापार्बाही गर्नु हो ।
एकातिर दिनहूँ अक्सिजन अभावमा, आइसियू अभावमा, भ्याण्टिलेटर अभावमा सयौँको जीवन समाप्त भएको समाचार अप्डेट भइरहन्छ ।

विभिन्न दर्दनाक दृष्यहरु सामाजिक सञ्जालहरुमा पनि आइरहन्छन् । अर्कातिर गाउँबस्तीमा दिनहूँ दोहोरो अंकमा बिरामी संख्या बढिरहेको छ ।
घरमा थामिनसक्नु भएर निरुपाय भएपछि जाने भनिएको आस्थाको देवल अस्पतालमा पनि बेड, अक्सिजन, आइसियू आदि नपाएर मरिरहेका घटना छ्यापछ्यापी सञ्जालहरुमा आइरहेका छन् ।
यो दृष्यले एउटा पाठ सिकाएको छ, आफै सचेत नभए अर्काले नियम लादेर मात्र हुदैन ।

आफै जागरुक नभए अरुको आशा गरेर मात्र पनि हुदैन त्यसैले गोरखाका गाउँगाउँका युवा जागेका छन् । गाउँगाउँमा आइसोलेशन वार्ड निर्माण गर्न थालेका छन् । सामाजिक सञ्जालबाट अर्थ संकलन गरी अक्सिजन सुविधासहितको आइसोलेशन बनाउन थालेका छन् ।
उनीहरुको यो प्रयास प्रसंसनीय छ । यसलाई बढवा दिनुपर्छ ।

यति हुँदाहुदै पनि रकम संकलन गरी दुरुपयोग गर्न सक्ने अबस्था रहने भएकाले यसप्रति सबै चनाखो भने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्