
सहरमा भन्दा गाउँमा धेरै संक्रमित, रोकथाम र स्वाब संकलन गर्न पनि मुस्किल
गोरखा नगरपालिकामा गत चैतयता कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २०२ छ । तर भीमसेनथापा गाउँपालिकामा २४३ जना संक्रमित भइसकेका छन् ।
पालुङटार नगरपालिकामा संक्रमितको संख्या ९५ छ तर शहीदलखन गाउँपालिकामा १२५ जना संक्रमित छन् ।
गोरखा नगरपालिकामा पनि वडा नं. १२ मा सबैभन्दा धेरै ४० जना संक्रमित छन् । उनीहरुमध्य सबै कुमाल समुदायको बस्ती रहेको रानीटारका हुन् । त्यस्तै धेरै संक्रमित रहेको वडा नं. ८ को ग्रामीण क्षेत्र हो ।
सबैभन्दा धेरै संक्रमित गोरखाको भीमसेनथापा गाउँपालिकामा छन् । त्यहाँको वडा नं.७ क्यामुण्टार, ठाँटी र वडा नं. ४ आँपचौरमा धेरै संक्रमित छन् । वडा नं. ४ मात्र ६० जना संक्रमित रहेका त्यहाँका स्वास्थ्यचौकी प्रमुख गुणराज लामिछाने बताउँछन् ।
दोस्रो धेरै संक्रमित संख्या रहेको शहीदलखन गाउँपालिका वडा नं. ८ मैलुङमा ४२ जना, वडा नं. ६ बाँसकोटमा ४२ जना र घैरुङमा ३७ जना संक्रमित रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ बताउँछन् । कोरोनाका कारण मर्नेको संख्या जिल्लामै सबैभन्दा धेरै सातजना शहीद लखन गाउँपालिकामा रहेको उनले बताए ।
पालुङटार नगरपालिकाको पनि वडा नं. २ भैसेपानी, चापाभञ्ज्याङ र आँपपिपल भञ्ज्याङमा संक्रमितको संख्या सबैभन्दा धेरै २६ जना छन् । बजार क्षेत्र रहेको वडा नं. ४ र ५ मा भने ।
‘सहरमा भन्दा गाउँघरतिर धेरै संक्रमित छन्’, डिसिसिएमसीका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल भन्छन्, ‘बजार क्षेत्रमा निषेधाज्ञाको पूर्णपालना छ । गाउँघरमा खुकुलो छ । त्यही कारणले यस्तो भएको हो । गाउँका बासिन्दाले स्वतस्फूर्त निर्धारित स्वास्थ्य मापदण्ड पालना गर्दैनन् । बाध्यकारी बनाउन टोलटोलमा प्रहरी परिचालन गर्न जनशक्ति पुग्दैन ।’ पालिकाले टोल विकास संस्थालगायतका आफ्ना संयन्त्र परिचालन गरेर जनचेतना जगाउन उनको सुझाव छ ।
अहिले दुर्गम गाउँहरुमा पनि बिरामीको संख्या बढिरहेको छ । ‘गाउँगाउँमा बिरामी छन् भन्ने खबर आइरहेको छ । खै के हो भन्नै सकिँदैन’, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने, ‘गम्भीर खालका चाहिँ छ्रैनन्, बिरामीचाहिँ धेरै छन् ।’
अर्को दुर्गम चुमनुब्री गाउँपालिकामा पनि बिरामी हुनेको संख्या बढिरहेको स्थानीबासीले बताएका छन् ।
गाउँघरमा बिरामी भए पनि पिसिआर तथा एण्टिजेन परीक्षण गर्न भने अटेरी गर्ने गरेको भीमसेनथापा गाउँपालिका ४ का स्वास्थ्य चौकी प्रमुख गुणराज लामिछाने बताउँछन् । ‘स्वाब संकलन गर्न गाउँमा जाँदा कोही धेरै कामको धपडी भएर बिरामी भएको भनेर छल्न खोज्छन्, कोही पानी परेका बेला मेलापात, घाँसदाउरा गरेर बिरामी भएको भनेर उम्किन खोज्छन्’, उनले भने, ‘कोभिड रोकथाम गर्न सहरमा जस्तो सजिलो गाउँघरमा नहुने रहेछ । सहरबजारमा शिक्षित, सचेत जमात हुन्छन् । नियम पालना गर्न बाध्य गराउन प्रहरी प्रशासनको बल पुग्छ । तर गाउँघरमा यसै पनि चेतनाको कमी भएकाहरुको संख्या धेरै हुन्छ, त्यसमाथि पनि प्रहरी प्रशासनको उपस्थिति नै हुदैन अनि लापार्बाही भइहाल्छ ।’ बिहे, ब्रतबन्ध आदिको भोज भतेरका कारण गाउँमा संक्रमण धेरै फैलिएको उनले बताए ।
खेतबारीमा मेलापात, पानीपँधेरा, विकास निर्माणको काममा जनश्रम गर्ने गर्दा पनि गाउँघरमा संक्रमण धेरै फैलिएको शहीदलखन गाउँपालिका वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाई तर्क गर्छन् । ‘हाम्रो वडामा धेरै फैलिएको नै भोजभतेरबाट हो’, उनी भन्छन्, ‘निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौँ, चितवन, पोखराबाट मान्छेहरु धेरै आए । आइसोलेट भएर बसेनन् । गाउँ चाहरे । अनि बिहे, बर्तुनको निम्ता मान्ने भनेर सराबरी भए, फैलिहाल्यो ।’ गाउँघरमा निषेधाज्ञाको कुनै अनुभूति नै नहुने उनले बताए ।
कोभिड पोजेटिभ देखियो भने समाजले हेयको दृष्टिले हेर्ला, बाहिर निस्कन नपाइएला भनेर परीक्षण गर्न नमान्ने र संक्रमण फैलने गरेको भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनाल बताउँछन् । ‘हामी स्वाव संकलनका लागि जाँदा मान्छेलाई मनाउन धेरै मिहिनेत गर्नुप¥यो’, उनी भन्छन्, ‘बल्लतल्ल स्वाब त संकलन गरियो, रिपोर्ट आउन १०÷१२ दिन लाग्छ । स्वाब दिएपछि क्वारेण्टाइनमा बस्नु पर्ने हो, बस्दैनन् । अनि यसैपनि फैलिहाल्छ ।’
एघारसय घरधुरी रहेको बारपाक गाउँमा अहिले तीनसय जना भन्दा धेरै रुघाखोकीका बिरामी छन् । गत जेठ १ गते गाउँपालिकाको स्वास्थ्य शाखाका टोली स्वाब संकलन गर्न जाँदा २५ जनाभन्दा धेरै परीक्षणमा नआएको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट बताउँछन् । ‘बिहान सातबजेदेखि स्वाब संकलनका लागि बसेका थियौँ, साँढे ११ बजेसम्म कोही पनि आएनन्’, उनले भने, ‘अनि आफै घरदैलोमा गएर फकाइफुल्याई बल्लतल्ल २५ जनाको स्वाब त संकलन गरियो, आजसम्म रिपोर्ट आएको छैन ।’ बिरामीको संख्या अत्याधिक बढ्दै गएपछि गत बुधबार स्वास्थ्यकर्मीको टोलीले ७० जनाको एण्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ देखाएको उनले बताए ।




