
ठूला अस्पतालमा बेड नपाएपछि आफैआफै मिलेर गाउँमै आइसोलेशन निर्माण
गाउँबस्तीमा कोरोना महमारी फैलिएर सयौँको संख्यामा बिरामी पर्न थालेपछि गोरखाका गाउँगाउँमा स्थानीयबासी आइसोलेशन सेण्टर निर्माणमा जुटेका छन् । ठूला सहरका अस्पतालमा बिरामीले बेड तथा अक्सिजन लगायतका सुविधा नपाउने भएपछि गाउँलेहरु आफैआफै आइसोलेशन सेण्टर निर्माणमा जुटेका हुन् ।
भीमसेनथापा गाउँपालिका वडा नं. ४ आँपचौरमा गत वैशाख ११ गते र १७ गते बिहेभोजमा सहभागी भएका २६ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्दा फेरि ३५ जनामा संक्रमण पुष्टि भयो ।

गाउँभरि कोरोनाका बिरामी छ्यापछ्याप्ति हुन थालेपछि स्थानीयबासी आ–आफै मिलेर आइसोलेशन वार्ड निर्माण गर्न थालेका छन् । वडा अध्यक्ष मदन शाक्यको संयोजकत्वमा आइसोलेशन व्यवस्थापन समिति गठन गरी गाउँलेहरुले धावा स्वास्थ्य चौकीमा चार बेडको आइसोलेशन वार्ड निर्माण गरेका हुन् ।
अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर सहितको आइसोलेशन निर्माणका लागि समितिले सामाजिक सञ्जालमार्फत देश विदेशमा छरिएर रहेकाहरुसँग अर्थ संकलन ग¥यो ।


जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, बेडसिट, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर, पिपिई, थर्मलगन, बेडसेट लगायतका सामग्री खरिद गरी आइसोलेशन व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । सहकारी संस्थाका अध्यक्ष प्रकाशसिँह क्षेत्री, कोषाध्यक्ष इन्द्र सिँखडा, सहसचिव मिलन अम्गाई, प्रमुख अभियन्ता गुणराज खनाल, सहकोषाध्यक्ष रविन सिँखडालगायतको टिमले संकलन गरेको सो सामग्री अध्यक्ष क्षेत्रीले वडाअध्यक्ष शाक्यलाई एक कार्यक्रमका बीच सो सामग्री हस्तान्तरण गरेका हुन् ।
‘हाम्रो धावामा कोरोना भाइरसको लहर असाध्यै तीब्र गतिमा बढेकाले यहाँका स्थानीयबासी तन, मन र धनले सकेजति आ–आफै जुट्नु भएको छ’, अध्यक्ष शाक्यले भने, ‘बिरामीलाई जिल्ला अस्पताल, भरतपुर, काठमाडौं पठाउँदा बेड पाउन नसकेर बिचल्ली भइरहेको, अक्सिजन नपाएर मरिरहेको समाचार दिनप्रतिदिन सुन्नु परेको छ । त्यसैले आफैआफै मिलेर गाउँमै आइसोलेशन बनाउन जुटेका छौँ ।’
सो संस्थाले घ्याम्पेशाल प्रहरीचौकीका प्रहरीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

त्यस्तै शहीद लखन गाउँपालिका वडा नं. ७ मा २० जना संक्रमित देखिएपछि वडा अध्यक्ष शरण श्रेष्ठसहितको स्थानीयबासीको समूह मिलेर हेल्थपोष्टमा आइसोलेशन वार्ड बनाउन सुरु गरेका छन् । स्थानीय प्रेम श्रेष्ठको संयोजकत्वमा गठित अर्थ संकलन समितिले सामाजिक सञ्जालमार्फत सहयोग गर्न आव्हान गरेपछि अहिलेसम्म १२ लाख रुपैयाँ संकलन भइसकेको वडा अध्यक्ष श्रेष्ठले बताए । सो सहयोगबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरसहितको १० बेडको आइसोलेशन बनाउने प्रक्रिया सुरु गरिएको छ ।
सोही गाउँपालिकाको वडा नं. ८ मा पनि ४२ जना संक्रमित भएपछि स्थानीयबासी आइसोलेशन बनाउन जुटेका छन् । वडाअध्यक्ष काशिनाथ अम्गाई नेतृत्वको स्थानीयबासीको टिमले तीनलाख ७२ हजार रुपैयाँ संकलन गरी छ वटा अक्सिजन सिलिण्डर खरिद गरेका छन् । साथै मास्क, सेनिटाइजर सहितका स्वास्थ्य सामग्री खरिद गरी कोभिड न्यूनिकरणका लागि खटिरहेका अम्गाईले जानकारी दिए ।
शहीदलखन गाउँपालिका वडा नं. ९ नाम्जुङमा पनि कोभिडले दुई जनाको मृत्यू भएको र २० जना भन्दा धेरै संक्रमित भएपछि स्थानीयबासी आ–आफै मिलेर आइसोलेशन वार्ड निर्माण गरेका छन् । नाम्जुङ स्वास्थ्यचौकीमा निर्माण गरिएको आइसोलेशनवार्डका लागि स्थानीय नामजुङ सेवा समाजले सो १० वटा अक्सिजन सिलिण्डर, अत्यावश्यकीय स्वास्थ्य सामग्री जुटाएको समाजका अध्यक्ष शिव बञ्जराले जानकारी दिए ।





