| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालमा अक्सिजनप्लाण्ट जडान, केहीदिनभित्रै सेवा सुरु हुने


कोभिडका बिरामीको चाप बढ्न थालेपछि गोरखा अस्पतालमा अस्थायी रुपमा अक्सिजन प्लाण्ट जडान गरिएको छ ।


अस्पतालको निर्माणाधीन भवनको क्याण्टिन कक्षमा प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने गरी प्लाण्ट जडान गरिएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।


सो प्लाण्टबाट सिधै १० वटा बेडमा अक्सिजनको पाइपलाइन जोडिने तयारी भएको उनले बताए ।

‘अक्सिजनप्लाण्ट त अस्थायी रुपमा जडान भयो तर पाइपलाइन निर्माणका लागि काठमाडौँबाट आउनु पर्ने प्राविधिक आएका छैनन्’, ढकालले भने, ‘उनीहरु आएको २४ घण्टाभित्र पाइपलाइन तयार गर्नेछन् । अनि मात्र सञ्चालनमा आउँछ ।’ यो प्लाण्टबाट उत्पादित अक्सिजन हालै निर्माण गरिएको एचडियू(हाइ डिपेन्डेन्सी युनिट)मा जडान गरिने अस्पतालले जनाएको छ ।


एचडियूमा हाइफ्लो अक्सिजन सेवा उपलब्ध हुन्छ । गम्भीर अबस्थाका बिरामीलाई नोजल क्यानुलाबाट यो सेवा दिन सकिने अस्पतालले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त २५ शैयाको एचडियू जडानका लागि नयाँ भवन निर्माण तयार नभएकाले केही समय खाद्य गोदाममा थन्क्याइएको थियो ।

तर कोभिडका बिरामी बढेपछि हालका लागि अस्थायी रुपमा क्याण्टिन भवनमा १६ देखि २० वटासम्म जडान हुने जनाइएको छ । १४ बेडको एचडियू भने सञ्चालनमा आइसकेको छ ।

मौजुदा भवनमा अक्सिजन प्लाण्ट छ, पाइपलाइन छैन भने निर्माणाधीन भवनमा पाइपलाइन छ, प्लाण्ट जडान गरिएको छैन । निर्माण कम्पनीले गत असोजमा र थप गरिएको समय माघसम्म पनि अस्पताल निर्माण सम्पन्न नगर्दा यस्तो समस्या परेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्