| आइतवार, कार्तिक २२, २०८३

पिसिआर रिपोर्ट नआउँदै आज गोरखाका दुई जनाको मृत्यू

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको शुक्रवार मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
छिमेकमा कोरोना संक्रमण देखिएपछि उनको बैशाख २७ गते उनको पिसिआर परीक्षका लागि स्वाब लिइएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई २ बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा मृत्यू भएको छ । बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट अझै नआएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए । ४२ वर्षिय उनी सिञ्जाली मावि ताक्लुङका शिक्षक समेत हुन् । २९ गते स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि टेकु पुगेका उनको मृत्यू भएको अस्पतालले जनाएको छ । तर उनको पिसिआर रिपोर्ट भने अझै आएको छैन ।
मृतकको पिसिआर रिपोर्ट नआउँदा दाहासंस्कार गर्न परिवारलाई समस्या भएको छ । छिटो रिपोर्ट पठाउन गण्डकी प्रदेशको प्रयोगशालामा भनिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्