
कोभिड व्यवस्थापनमा बोर्लाङका युवाहरुको उदाहरणीय अभ्यास
समुदायस्तरमा कोरोना महामारी डरलाग्दो गरी फैलन थालेपछि भीमसेनथापा गाउँपालिका ७ बोर्लाङका युवाहरु महामारी रोकथाममा जुटेका छन् ।
जिल्लामै सबैभन्दा धेरै संक्रमितको संख्या बढ्न थालेपछि विदामा सहरबाट गाउँ आएका युवाहरु, स्थानीय युवाक्लवका युवाहरु, स्वास्थ्य कार्यकर्ता तथा कर्मचारीहरु कोरोना संक्रमण न्यूनिकरणका लागि जुटेका हुन् ।
उनीहरु बिहानमा र साँझमा माइकिङ गर्दै गाउँका टोलटोल हिड्ने गर्छन् । ‘बिगत १० दिनदेखि हामी बिहान र बेलुका हामी माइकिङ गर्दै गाउँघर घुम्छौँ । जहाँतहीँ जनचेतना जगाउने सन्देश लेखिएको पोष्टर, पम्प्लेट टाँसेका छौँ’, स्थानीय प्रितम श्रेष्ठले भने, ‘घरदैलो गर्दै स्वस्थ रहन, मनोबल बढाउन सिकाउँछौँ । जनस्वास्थ्यका कर्मचारी, गाउँपालिका, वडाका कर्मचारीहरुलाई सघाउँछौँ ।’ अभियानमा गण्डकी युवा क्लव, कदम नेपाल, बोर्लाङ व्यापार संघका व्यवसायी खटेका उनले बताए ।
युवाहरु परिचालित भएपछि गाउँलेहरु लापार्बाहीपूर्वक घरबाहिर निस्कन, हिडडुल गर्न, भेला हुन, भोजभतेर खान छोडेको वडाअध्यक्ष नारायण श्रेष्ठले बताएका छन् । ‘पहिलो पटक क्यामुण्टारका २९ जनामा कोभिड संक्रमण देखियो ।
त्यसपछि क्यामुण्टारमा मात्र ६५ जना र ठाँटी बजारमा २५ जना संक्रमित देखिए’, श्रेष्ठले भने, ‘अबस्था धेरै जटिल हुन थालेपछि युवाहरु आ–आफै तातेका हुन् । अहिले संक्रमितको संख्या आधै घटेको छ ।’ खेतबारीको काम पनि समूहमा खेताला भेला भएर नगर्ने अभ्यास गरिएको उनले बताए ।
युवाहरुको सक्रियतापछि गाउँमा भएका दुईवटा बिहेमा भोजभतेर बन्द भएको, गुठीपूजा, कूलपूजा पनि स्थगित भएको उनले बताए । ‘हिजोँ अस्ति हुन लागेको कुलपूजा पनि अब अबस्था सामान्य भयो भने जेठको २०/२२ गतेतिर लगन जुराएर गर्न सहमत भएका छन्’, उनले भने, ‘तयारी भइसकेको बिहे त रोक्न सकिएन तर बिहेभोज रोकियो ।’ युवाहरुले घरदैलो गरेर स्वस्थ रहन सिकाएका, मनोबल बढाउन सिकाएपछि कोरोनाको जोखिम नियन्त्रण गर्न धेरै प्रभावकारी रहेको उनले बताए ।





