
गोरखा अस्पतालमा संक्रमितको चाप बढेपछि आँगनमै राखेर उपचार (फोटो फिचर)
आषिशकुमार भट्ट : गोरखा अस्पतालमा कोरोना संक्रमित बिरामीलाई आगनमा राखेर उपचार गरिएको छ । अस्पतालमा भएको छ वेडको आइशोलेसन आईतवार साँझ भरिएपछि सोमवार बिहानदेखि बिरामीलाई आँगनमा र टेन्टमा राखेर उपचार गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
‘छ वेड क्षमता हो, अहिले ईमर्जेन्सी दुईवटा वेडमा कोरोनाको बिरामी हुनुहुन्छ, टेन्ट र आगनमा एक एक जना हुनुहुन्छ’ उनले भने । बेड भरिएपछि अस्पतालको टेन्टमा एक सुत्केरी महिला उपचार गराईरहेकी छिन् । बैशाख १४ गते सुत्केरी भएकी सिरानचोक गाउँपालिकाकी एक महिला नबजात शिशुलाई घरमा छाडेर दुईदिन देखि गोरखा अस्पतालका आगनमा टाँगिएको टेन्टमा छिन् । उनलाई कोरोना पोजेटिभ भएको र स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजन लगाएर राखिएको अस्पतालले जनाएको छ ।
गाउँगाउँमा स्वास्थ्यमा समस्या आएको बताउँदै अस्पताल आउन टेलिफोन गर्नेको सख्ंया १० भन्दाबढि रहेको उनले बताए । अहिले अस्पतालमा ओपिडी जाँच गर्न आएका अधिकासं ज्वरोका बिरामी छन् । ति मध्ये केहीको स्वास्थ्यमा समस्या देखिएको छ । ‘अस्पतालले धान्न नसक्ने गरी बिरामीको चाप बढेको छ’ सुचना अधिकारी ढकालले भने ‘हामीले आगनमै राखेर भएपनि अक्सिजन दिने, औषधी उपचार गर्ने गरिरहेका छौँ ।’
अहिले अस्पतालमा उपचाररत बिरामी अधिकासं ५० वर्ष उमेर भित्रका छन् । ठाउँ अभाव हुँदा अस्पतालले आइशोलेसन बेड राख्न नसकेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले बताईन । ‘अस्पताल भबन बन्दैछ, हस्तान्तरण भएको छैन, अहिले आबासबाट अस्पताल चरिहेकाले हामीले पूर्ण रुपमा चलाउन सकेका छैनौँ’ उनले भनिन् ‘अहिले धेरै समस्या भयो ।’ अस्पताल जनशक्ति र औषधी भन्दा ठाउँ अभाव हुँदा समस्या भएको उनले बताईन । केही वेड थप गर्ने ठाउँ हुने हो भनै अझै सेवा बिस्तार गर्न सकिने अस्पतालले जनाएको छ ।
भुकम्पछि पुन निर्माण भएको गोरखा अस्पतालको अहिले सुविधा सम्पन्न भबन निर्माण हुँदैछ । भबन निर्माण पुरा नभएकाले अस्पतालले सहज सेवा दिन सकेको छैन । गोरखा सदरमुकाममा अस्पताल बाहेक आइशोलेसन बेड नहुँदा संक्रमितको उपचार गर्न समस्या भएको अस्पतालका डाक्टरहरुले बताएका छन् ।








