| सोमवार, कार्तिक २३, २०८३

आजदेखि गोरखा जिल्लाभर निषेधाज्ञा, बिहानै देखि प्रहरी चेकजाँचमा कडाई

गोरखा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापाक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
‘संक्रमितको संख्या बढेपछि कोरोना नियन्त्रण, रोकथामका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिएको उनले बताए । यस अघि बैंक तथा बित्तिय संस्थालाई सेवा संचालन गर्न अनुमती दिएपनि कार्यालय भित्रको मात्रै काम गर्न पाउने गरी ब्यवस्था गरिएको छ । त्यो पनि न्यूनतम कर्मचारीको उपस्थितीमा गराउनुपर्ने गरी निर्णय भएको प्रजिअ शर्माले बताए ।
निषेधाज्ञाका कारण गोरखाको जनजिवन बिहिवार पनि बिहानैदेखि प्रभावित भएको थियो । गोरखा सदरमुकाममा पसल अन्य दिन जस्तो खुलेका थिएनन् भने निजी तथा भाडाका सवारी साधन चलेनन् । मानिस घर बाहिर कम निस्किएका थिए । खाद्यान्न, औषधी पसल खुलेका छन् भने एम्बुलेन्स, प्रेस, दुध, पानी र निर्माण सामग्री बोकेका गाडी चलेका थिए ।
बुधवार निषेधाज्ञा उलंघन गर्ने मोटरसाईक धेरै थिए । दुई घण्टा रोकेर र केही सवारी साधन जिल्ला प्रहरी कार्यालयमा राखेर पछि पठाएको थियो । बिहिवारबाट पुरै जिल्ला निषेधाज्ञा भएकाले प्रहरीले थप कडाई गर्ने जनाएको छ । ‘हामीले प्रहरी गस्ती बढाएका छौँ, प्रहरी अधिकृतको कमाण्डमा बजारमा गस्ती भईरहेको छ’ डिएसपी प्रकाश दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्