| आइतवार, कार्तिक २२, २०८३

आजदेखि गोरखाको तीन पालिकामा निषेधाज्ञा, बिहानैदेखि सुनसान सदरमुकाम

गोरखाको ३ स्थानिय तहमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । गोरखा, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाका कारण गोरखाको जनजिवन बिहानैदेखि प्रभावित भएको छ ।
गोरखा सदरमुकाममा पसल खुलेका छैनन् भने निजी तथा भाडाका सवारी साधन चलेका छैनन् । अन्य दिनको तुलनामा मानिस घर बाहिर कम निस्किएका छन् । खाद्यान्न, औषधी पसल खुलेका छन् भने एम्बुलेन्स, प्रेस, दुध, पानी र निर्माण सामग्री बोकेका गाडी चलेका छन् ।
कोरोनाको तिब्र फैलावट रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाई संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन गाउँपालिकाले निषेधाज्ञाको सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निणर्य गरेको हो ।
बस, जिप, ट्याक्सी जस्ता सार्वजनीक यातायात र निजी सवारी साधन चल्न पाउने छैन । यस्तै होटल रेष्टुरेन्ट, चिया खाजा पसल, क्लव, ब्यूटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ र फुटपाथको पसल संचालन गर्न नपाउने निणर्य डिसिसिएमसीको बैठकले गरेको छ ।
एम्बुलेन्स, शव बहान, खाद्य सामग्री, दाना, चल्ला,तरकारी, फलफुल, पानी, ग्यासँ, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी, कार्यालय जाने कर्मचारी, स्वास्थ्य सेवा, संचार, निर्माण सामग्री बोकेका सवारी साधन भने निर्वाद चल्न पाउने निणर्य गरिएको प्रशासनले जनाएको छ ।
सरकारी कार्यालयको अत्यावश्यक सेवा र बैंक तथा बित्तिय संस्थाको सेवा पनि नियमित संचालन हुनेछ । औषधीजन्य पसल २४ सै घण्टा खुल्ला राख्नुपर्ने, खाद्यान्न, तरकारी, पशुपन्छीका दाना,ग्याँस डिपो, कृषिजन्य सामग्री बिक्री गर्ने पसल बिहान ५ देखि ९ र बेलुकी ५ देखि ७ बजे सम्म मात्रै संचलन गर्न पाईनेछ ।
न्यूनतम भौतिक दुरी कायम गर्न, सबै प्रकारका भेला बन्द गर्न पनि प्रशासनले निर्देशन गरेको छ । बिबाह ब्रतबन्धका कार्यमा बढीमा १५ जना मात्रै सहभागी हुन पाउने प्रजिअ सालिग्राम शर्मा पौडेलले बताए । मठ मन्दिरमा नित्य पुजा बाहेकका अन्य सबै गतिविधीमा समेत प्रशासनले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्