मंगलवार रातीदेखि निषेधाज्ञा गर्न गोरखा नगरपालिकाको सिफारिस
गोरखा नगरपालिकाले मंगलवार रातीदेखि नगरक्षेत्रमा निषेधाज्ञा गर्न जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्र लाई सिफारिस गरेको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले कोरोना संक्रमण बढ्दो देखिएकाले नियन्त्रण र रोकथामका लागि निषेधाज्ञाको सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख राजनराज पन्तले बताए ।
नगरकार्यपालिकाको बैठक अघि नगरपालिकाले राजनीतिक दल, यातायात ब्यवशायी, उद्योगी ब्यवशायी सहितको सर्वपक्षिय बैठक डाकेर कोरोनाको अवस्था बारे जानकारी गराएको थियो । बैठकमा आगामी तयारी, भुमिकाको बारेमा छलफल सँगै सुझाब पनि मागिएको नगरप्रमुख पन्तले बताए । ‘सरोकारवालाहरुको सुझाबको आधारमा कार्यपालिकाको बैठकले १० दिनका लागि निषेधाज्ञाको सिफारिस गर्ने निर्णय गरेको हो’ उनले भने ।
सरकारले तोकेका अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नगरपालिकाले डिसिसिएमसीलाई अनुरोध गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नगरपालिकाको सिफारिसबारे डिसिसिएमसीको बैठकमा छलफल पछि निर्णय हुने बताए । ‘डिसिसिएमसी र जिल्ला स्तरीय सुरक्षा समितिको बैठकमा छलफल भएपछि हामी के गर्ने भन्ने निर्णय गर्छौँ’ उनले भने ।




