| आइतवार, कार्तिक २२, २०८३

गोरखा प्रवेश गर्ने नाका मझुवा र आरुघाटमा हेल्थडेक्स स्थापना

कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने उद्देश्यले गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा शुक्रबार हेल्थडेक्स स्थापना गरिएको छ ।

कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए ।
कोरोनाको पहिलो लहर सुरु भएका बेला नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितका टोली हेल्थडेक्समा खटिएका थिए । अहिले पनि स्वास्थ्यकर्मी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी हेल्थडेक्समा खटिएका छन् ।

अन्यत्रबाट गोरखा प्रवेश गरेकाहरु कहाँबाट आएका हुन् पहिचान गर्ने र कोरोनाको संक्रमण फैलिएको ठाउँबाट आएको भएमा सुरक्षित होम आइसोलेशनमा बस्न अनुरोध गरेर पठाउने गरिएको नगरपालिकाले जनाएको छ ।
भारतबाट आएकाहरु, अन्य जिल्लाबाट आएकालाई चेकजाँच गरेर स्वास्थ्य अवस्थाबारे पनि हेल्थडेक्सबाट स्वास्थ्यकर्मीले जानकारी लिनेछन् । हेल्थडेक्स स्थापना र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले सहयोग गरेको छ । गोरखा भित्रिने पालु्ङटार र आरुघाट नाकामा पनि हेल्थडेक्स राख्ने तयारी छ ।
यस्तै गोरखाको पालुङटार प्रवेश गर्ने नाका हवाईग्राउण्डमा हेल्थडेक्स राख्ने निर्णय नगरपालिकाले गरेको छ । शनिवारदेखि पालुङटार भएर गोरखा प्रवेश गर्नेहरुलाई निगरानी, चेकजाँच गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिने स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले बताए ।

पालुङ्टार नगरपालिकाले शुक्रवार २० जनाको पिसिआर परीक्षणका लागि स्वाब समेत संकलन गरेको छ ।
आरुघाट गाउँपालिका भएर गोरखा प्रवेश गर्ने नाका आरुघाट पुलमा हेल्थडेक्स संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । धादिङ हुँदै आरुघाट, धार्चे, चमनुब्री, भिमसेन थापा गाउँपालिका प्रवेश गर्नेहरुको निगरानी गर्ने गरिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हेल्थ डेक्समा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्