
गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या ६१ पुग्यो
दोस्रो लहरको कोरोना महामारी सुरुभएयता गोरखामा ६१ जना संक्रमित भएका छन् । उनीहरुमध्य ५९ जना आ–आफ्नो घरमा होम आइशोलेसनमा र दुईजना अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा संक्रमित देखिएका छन् । चुमनुब्री, धार्चे, बारपाक सुलीकोट, आरुघाट, शहीदलखन, अजीरकोट र सिरानचोक गाउँपालिका अहिलेसम्म ग्रिनजोनको रुपमा रहेका छन् ।
गतै बैशाख १० गते यता चार सय ७१ जनाको पिसिआर जाँचका लागि स्वाब लिइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
‘आज(शुक्रबार)सम्म दुई सय ६४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ’ उनले भने । बिहिवार भीमसेन थापा गाउँपालिकामा १५ र पालुङटार नगरपालिकामा ३१ जनाको स्वाब संकलन गरिएको छ ।
गोरखा अस्पतालमा जाँच गराउन आएका एकजना, पालुङटारबाट चितवनमा उपचार गर्न गएका एक र टारिफाँटस्थित वृद्धआश्रमका कर्मचारीको काठमाण्डौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।
भीमसेनथापा गाउँपालिकाका एक र अस्पतालमा पोजेटिभ रिपोर्ट आएका एक गरी दुई जना गोरखा अस्पतालको आइशोलेसनमा उपचारत छन् ।
जिल्ला बाहिर पिसिआर जाँच गर्दा पोजेटिभ देखिएका २१ जना छन् भने जिल्लाभित्र स्वाब संकलन गरिएको मध्ये ५३ जना संक्रमित भेटिएका हुन् ।




